श्रावण२३,काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकढिक्का बनाउन लागि परेको बताउँदै फुटको हल्लाबाट आतंकित नहुन र धैर्य नगुमाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।बुधबारको भेलापश्चात् विभिन्न समाचारमाध्यममा पार्टी विभाजनको दिशामा गयो, वरिष्ठ नेता खनालले नै निर्देशन दिए भनेर समाचार सम्प्रेषण भएकाप्रति गम्भीर चिन्ता र आपत्ति व्यक्त गर्दै उनले अहिले नेकपा विभाजनको कुनै खतरा नरहेको स्पष्ट पारेका हुन् ।
“मैले पार्टी विभाजन हुँदैछ भनेर निर्देशन दिएको भन्ने समाचार आएछ । म आफैं वार्ता र संवादमा सहभागी भएर पार्टी एकतालाई सुदृढ तुल्याउन लागि परेको छु । पार्टीका विवाद, विमति विधिसम्मत तवरले हल हुन्छ भन्नेमा म विश्वस्त छु,” खनालले भने, “त्यस प्रकारको चर्चा कहीँ कतै भएको छैन । अहिले पार्टी फुटको सम्भावना पनि मैले देखेको छैन । पार्टी फुटको पक्षमा कोही उभिन्छ भन्ने मलाई लाग्दा पनि लाग्दैन । पार्टी फुटाउने तत्त्व आफैं समाप्त भएर जान्छन् । सञ्चारमाध्यमहरूमा झलनाथ खनालले पार्टी फुटाउने निर्देशन दियो भनेर समाचार आएछ । त्यो निराधार छ ।”
उनले पार्टी विभाजन गर्न विभिन्न तत्त्व क्रियाशील रहेको र त्यो उनीहरूद्वारा सिर्जित भ्रम भएकाले कार्यकर्ता पंक्ति अलमलिन जरुरी नरहेको समेत बताएका छन् ।
“पानीमा फुल पार्दैमा कार्यकर्ता विचलित हुन जरुरी छैन । म कहिल्यै पनि विभाजनको पक्षमा छैन,” उनले प्रष्टीकरण दिँदै भनेका छन्, “विषयलाई अतिरञ्जना गर्दैमा नेकपा विभाजित पनि भइहाल्दैन ।”
तपाईको प्रतिक्रिया