प्रदेश १ को बजेटः ४० अर्ब ८९ करोड
- नयाँ शिविर
- २०७७ असार २ मङ्गलबार
विराटनगर । संंघिय सरकारले बजेट प्रस्तुत गरेको १७ दिनपछि प्रदेश सरकारले बजेट सार्वजनिक गरेका छन् ।
यस्तै प्रदेश १ सरकारले पनि आगामी आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपियाँको बजेट ल्याएको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोेले सार्वजनिक सोही बजेट सार्वजनिक गर्नुभएकोे हो ।
आगामि वर्षको बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार (४६.२९%)चालूतर्फ र पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार( ५३.७१%) बजेट विनियोजन गरिएको छ ।
मन्त्री आङ्बोले कृषि र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको बताउँदै कृषि तथा पशुपालनका लागि ३ अर्ब ८३ करोड १६ लाख विनियोजन गरिएको बताउनु भयो । त्यस्तै वित्तिय व्यवस्थापनतर्फ ४ करोड र अन्तर सरकारी वित्त हस्तान्तरणका लागि रु. २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ ।
यस्तै, प्रदेशलाई अर्गानिक बनाउन ९ करोड ८४ लाख बजेट छुट्याइएको छ भने धूलो दूध कारखानाका लागि १३ करोड, कृषि यान्त्रीकरणका लागि साना कृषि यन्त्रहरू उपलब्ध गराउन ६ करोड बजेट विनियोजन गरिएको छ ।
प्रदेश–१ सरकारले प्रत्येक स्थानीय तहलाई समेत समानरूपमा अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । यस्तै प्रत्येक स्थानीय तहलाई वित्तीय समानीकरणका लागि ५० लाख र समपूरक अनुदान १ करोड उपलब्ध गराउने घोषणा गरेको छ ।
प्रदेश–१ सरकारले प्रदेश सांसदहरूमार्फत खर्च गर्ने सांसद विकास कोषको बजेट घटाएको छ । सरकारले सांसद विकास कोष भनेर चिनिने प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट घटाएको हो । चालू आर्थिक वर्षमा प्रदेशका ५८ वटा निर्वाचन क्षेत्रका लागि २ करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि २ करोड छुट्याइएको छ ।
यस्तै चालू आर्थिक वर्षमा ९३ जना प्रदेशसभा सदस्यमार्फत खर्च हुने ५० लाख रुपियाँ दरको कार्यक्रममा वृद्धि गरी १ करोड पु¥याइएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षमा समग्र यातायात तथा पूर्वाधार विकास क्षेत्रका लागि ८ अर्ब ७४ करोड रुपियाँ बजेट छुट्याएको छ ।
यस्तै विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रलाई प्रदेश सरकारले सरुवा रोग र अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने भएको छ । त्यसका लागि आवश्यक औषधि र उपकरण खरिदका लागि ५० करोड रुपियाँ विनियोजन गरिएको छ । प्रदेश सरकारले धनकुटा प्रादेशिक अस्पतालको पनि स्तरोन्नति गर्ने र जिल्ला अस्पतालहरूलाई न्यूनतम ५० शैयाको र भेन्टिलेटरसहित स्तरोन्नति गर्ने, २५ शैय्याको अस्पताललाई स्मार्ट अस्पतालका रूपमा विकास गर्नका लागि १ अर्ब १० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।
यस्तै मोरङको उर्लाबारीमा रहेको मंगबलारे अस्पताललाई मदन भण्डारी ट्रमा सेन्टरको रूपमा विकास गर्न बजेट विनियोजन गरिएको वक्तव्यका क्रममा मन्त्री आङ्बोले बताउँनु भयो ।
सोहि बजेटमा आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँडबाट १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख र चालू आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब रहने पूर्वानुमान प्रदेश सरकारको छ । गत वर्ष प्रदेश सरकारले ४२ अर्ब २० करोड ४ लाख रुपियाँको बजेट ल्याएको थियो ।
तपाईको प्रतिक्रिया