काठमाडौं, जेठ २८ – नामी ग्रुप अफ कम्पनीजले आगामी जेठ ३० गते, २०८३ (जुन १३, २०२६) मा जोरपाटीस्थित नामी इन्टरनेशनल स्कुल परिसर, गोकर्णेश्वर–७, काठमाडौंमा ‘नामी ओपन हाउस कार्निभल २०८३’ आयोजना गर्ने भएको छ।
शिक्षा, युवा सहभागिता, संस्कृति तथा मनोरञ्जनलाई एकै थलोमा समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त कार्निभलमा विद्यार्थी, अभिभावक, शिक्षक, पूर्वविद्यार्थी तथा सर्वसाधारण गरी *८ हजारभन्दा बढी सहभागी* हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
कार्निभलमा शैक्षिक प्रदर्शनी, करियर परामर्श तथा अन्वेषण कार्यक्रम, अन्तरक्रियात्मक सिकाइ गतिविधि, सांस्कृतिक प्रस्तुति तथा युवामुखी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछन्। कार्यक्रमले शिक्षा, सिर्जनशीलता र सामुदायिक सहभागितालाई प्रवर्द्धन गर्ने साझा मञ्च प्रदान गर्ने विश्वास लिइएको छ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपालका चर्चित सांगीतिक समूह तथा कलाकारहरूको प्रस्तुति रहनेछ। यस अन्तर्गत *कुमा सागर एण्ड द ख्वपा, द हुलाकी र भीजेडएन (VZN) लगायतका लोकप्रिय सांगीतिक समूहले प्रस्तुति दिनेछन् भने उदीयमान युवा प्रतिभाहरूले पनि आफ्नो कला प्रदर्शन गर्ने अवसर पाउनेछन्।
सन् २०१२ मा स्थापना भएको नामी ग्रुप अफ कम्पनीजले विद्यालयदेखि स्नातकोत्तर तहसम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। शैक्षिक उत्कृष्टता, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिँदै संस्थाले देशभरका विद्यार्थीका लागि गुणस्तरीय शैक्षिक अवसर सिर्जना गर्दै आएको जनाएको छ।
आयोजकका अनुसार ‘नामी ओपन हाउस कार्निभल २०८३’ केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई शिक्षा, युवा सम्भावना, सांस्कृतिक विविधता तथा सामुदायिक एकताको उत्सवका रूपमा आयोजना गर्न लागिएको हो। यसले हजारौं सहभागीलाई एकै स्थानमा भेला गराई स्मरणीय तथा प्रभावकारी अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

