Site icon Kathmandu Bulletin

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा सुरक्षा कडाइ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा कडाइ गरिएको छ।

काठमाडौं प्रशासनले बिहीबारदेखि लागु हुनेगरी एक महिनासम्मका लागि विमानस्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, दुर्गा प्रसाईं लगायत राजावादी पार्टी र अभियानहरूले शुक्रबार झापाबाट फर्कन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा भव्य स्वागत गर्ने भनेका थिए।

यद्यपि निर्वाचन आचारसंहिता जारी भएको अवस्थामा प्रदर्शन गर्न नपाइने भन्दै काठमाडौं प्रशासनले त्यस्ता कार्यक्रम हुन लागेकोबारे ध्यानाकर्षण जनाउँदै निषेधाज्ञा लागू गरेको थियो।

प्रशासनले विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तराष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्र लगायतको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ।

निषेधाज्ञाको बाबजुद पनि राप्रपा नेता र विभिन्न अभियानमा आबद्ध व्यक्तिहरूले पूर्वराजा शाहलाई स्वागत गर्न उपस्थित हुने भनेपछि विमानस्थलको क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको हो।

त्यहाँ नियमितभन्दा ठूलो संख्यामा प्रहरीहरू खटाइएको छ। प्रहरीहरूले धेरै जनालाई धेरै बेरसम्म जम्मा हुन समेत दिएको छैन। साथै विमानस्थल प्रवेश गर्नेहरूलाई पनि कडाइका साथ चेकजाँच गरिरहेको छ।

Exit mobile version