Site icon Kathmandu Bulletin

निर्वाचन भएपनि जनप्रतिनिधि विहिन हुनसक्छ चितवन -२

आर थापा- 
यदि रवि लामिछाने चितवन – २ वटा निर्वाचित भएपछि जित्नेबित्तिकै निलम्बित हुनेवाला छन्, उनै रविले अरू दललाई प्रतिपक्षमा रहन समेत योग्य नभएको भन्दै भाषण गर्नु लोकतन्त्रमा विरलै देखिने कुरूप दृश्य हो । आफैं संसद भवन छिर्न योग्य छैन, उसैले प्रतिपक्षी को हुने र को नहुने भन्दै हिँड्न सुहाउँछ ?

उनी यसअघि २०७९ मा शानदार बिजयी भएर आए अनि शानदार रूपमा निलम्बित भए । नागरिकता फ्रड गरेका उनको निकितासँगको बिहेसमेत बदर भयो । उनकै फ्रडका कारण चितवनमा करोडौं खर्च गरेर अर्को निर्वाचन भयो । मतदाताले फेरि जितेर पठाए, अनि फेरि सहकारी कान्डमा निलम्बित !

यसपाली उनले चुनाव लड्ने सुविधा त पाए, संगठित अपराध र सम्पत्ती शुद्धिकरणको अभियोग लागेकाले पनि चुनाव लड्न पाउनेु भनेर पुरानाले आफ्ना लागि बनाएको कानूनअन्तर्गतको सुविधा लिएका रविले आफू नयाँ हो भनेको सुहाउन्न ।

सायद, चितवन २ का मतदाता अहिले पनि झुक्किनेवाला छन । आफूले छानेर पठाएको प्रतिनिधि २र२ पटक निलम्बित भैसक्यो । तेस्रोपटक मत दिए भने जित्नेबित्तिकै निलम्बित ! सपथसमेत पाउने छैनन रवि लामिछानेले, १६४ निर्वाचन क्षेत्रका जनप्रतिनिधि संसद भवन छिर्दा चितवन-२ खाली हुनेछ । त्यहाँका जनताको आवाज संसदमा सुनिनेछैन । अर्थात्, बाँकी निर्वाचन क्षेत्रका जनताको मतले मूल्य पाउनेछ भने, त्यहाँका जनताले दिएको मतको मूल्य शून्य हुनेछ ।

एउटा गम्भीर अपराधको अभियुक्त, जो सांसद बन्न योग्य छैन । जसको एक वर्षमा २ सय दिन अड्डा अदालत घुमेर बित्छ । अझै पनि त्यस्तालाई भोट हाल्छु भन्दै हिँड्नेहरू मेरो विचारमा कहीँ न कहीँ गलत हिसाबले प्रभावित पारिएका, आफैंले सोच्न र स्वतन्त्रतापूर्वक निर्णय लिन नसक्ने, कसैको कलुषित विचारद्वारा बन्धक गरिएका र कहीँ न कहीँ मानसिक रूपमा कमजोर व्याक्तिहरू हुन् ।

मेरो एउटा अपील छ, चितवन-२ का सबै मतदाताका लागि । जतिसुकै घन्टी र रविप्रेमी भएपनी यसपटक सांसद नै हुन अयोग्य मान्छेमा भोट हाल्नुभन्दा जुनसुकै पार्टी या स्वतन्त्र अर्को उम्मेदवार, जो अलि तुलनात्मक रूपमा राम्रो छ, त्यसलाई यसपटक भोट हालेर पठाउनुहोस । तपाईको मतको मूल्य कायम हुनेछ । संसदमा तपाईको प्रतिनिधित्व हुनेछ । अन्यथा निर्वाचन भएपनि जनप्रतिनिधि विहिन हुनसक्छ चिनवन – २ ।

चुनाव अर्कोपटक पनि हुने चीज हो । अदालती परीक्षणपछि रवि जब निर्दोष बनेर आउनेछन, तब अर्को रविलाई नै शानदार ढंगले जिताएर पठाए हुन्छ । लोकतन्त्रमा जनताको पनि परीक्षा हुनुपर्छ । विवेक बन्धक राखेर निर्णय लिनेहरू प्रत्येक मान्छे यो धर्तीका बोझ हुन् ।

Exit mobile version