१९ बर्षपछि कुलदेवता सम्झँदै पुर्ख्यौली थलोमा पूर्वराजा ज्ञानेन्द्र
- नयाँ शिविर
- २०८१ चैत ८ शनिवार

गोरखा – पूर्वराजा ज्ञानेन्द्र शाह १९ बर्षपछि शनिबार पुर्ख्यौली थलो गोरखा आइपुगेका छन् ।
यसअघि उनि विसं २०६२ मा नागरिक अभिनन्दनका क्रममा गोरखा आइपुगेका थिए । शाहवंशीय राजाहरूको कुलदेवता मानिने गोरखकाली र गोरखनाथ मन्दिरको दर्शनका लागि पूर्वराजा शाह शनिबार गोरखा आएका हुन् ।
उनले मन्दिरमा पूजाअर्चनाका लागि झण्डै दुई घण्टा समय बिताए । नागरिक स्वागत समाज, गोरखाका सदस्य होम सिं बस्न्यातका अनुसार, शाहले यसबीचमा कुलदेवताको पूजाका लागि दक्षिणा पठाउने गर्थे । यसपटक भने शाह आफैं गोरखा पुगेर कुलदेवताको पूजाअर्चनामा सहभागी भएका छन् । पुख्र्यौली थलोमा आउन पाउँदा आफूलाई खुसी लागेको प्रतिक्रिया शाहले दिएका छन् । कुलदेवताको पुजाआजा सकेर फर्कने क्रममा उनले केही सन्देश पनि दिएका छन् ।
देशमा शान्ति नभएको, कोही पनि केही गर्न डराउनु पर्ने अवस्था नभएको र शान्ति र विकासका लागि कामना गरेको पूर्वराजा शाहको भनाइ छ ।
नागरिक स्वागत समाजले प्रत्येक वर्ष पुख्र्यौली थलो गोरखा आउन आग्रह गर्दै पूर्वराजा शाहलाई ज्ञापन पत्र पनि बुझाएको छ । उक्त ज्ञापन पत्रमार्फत जनशक्ति तथा खर्च कटौतीका कारण गोरखकाली र गोरखनाथ पूजाआजामा परेको कठिनाइलाई सहज बनाइदिन माग गरिएको छ ।
भेटघाटकै क्रममा उनले एक सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया पनि दिए ।
‘कसैले कसैको पनि कुभलो नचिताओस्, भलो चिताओस् भन्ने मेरो कामना छ,’ उनले भनेका छन्, ‘कोही पनि केही गर्न डराउनु पर्दैन । देशमा शान्ति कायम होस् । देशमा विकास होओस् । सबैलाई सुख र समृद्धि होस् भन्ने कामना गर्दछु ।’ पञ्चेबाजासहित तनहुँको आँबुखैरेनीबाट मोटरसाइकल र्याली गरेर शाहलाई गोरखा दरबार पुर्याइएको थियो ।
सवारीमा शिव सेना, राष्ट्रिय सरोकार मञ्च नेपाल लगायतका स्वयंसेवक समूहहरूको सहभागिता थियो । बिहान १० बजे गोरखा दरबार पुगेका उनी १२ बजेसम्म पूजाआजामा व्यस्त रहे ।पुजाअर्चनापछि उनले भूकम्पपछि पुननिर्माण भएको गोरखा दरबार अवलोकन गरे । उनले बज्रभैरवको टिका र प्रसाद ग्रहणसमेत गरेका थिए ।
शनिबार चैत्र कृष्णअष्टमी गोरखकाली पूजा समेत रहेकाले सोही अवसर पारेर पूर्व राजा शाहले भ्रमणको कार्यक्रम तय गरेको उनको सचिवालयले बताएको छ ।
तपाईको प्रतिक्रिया