चितवन – चितवनको सिमलतालमा पहिरोले दुई वटा बस बगाएको विषयको अध्ययन गर्न बनेको कार्यदलका सदस्यहरू घटनास्थलमा पुगेका छन्। बुधबार बिहान गृह मन्त्रालयका सहसचिव छवि रिजाल नेतृत्वको कार्यदल चितवनको सिमलताल पुगेका हुन्।
उनीहरूले पहिरो खसेको स्थान, गाडी खसेको स्थान, त्रिशूली नदी किनारको अवलोकन गरेका हुन्। यस्ता घटना कसरी रोक्ने भन्ने विषयमा अध्ययन गरिने घटनास्थलमा पुगेका सहसचिव रिजालले बताए।
‘आगामी दिनहरूमा यस्ता खालका घटनाहरू के गर्दा दोहोरिँदैन, कसरी रोक्न सकिन्छ भन्ने विषयमा पनि हामी हेर्छौं,’ उनले भने। लेदोसहित खसेको पहिरो उच्च विन्दुसम्म पुगेर हेर्ने पनि उनले बताए।
‘सडकभन्दा माथिको ठाउँ जहाँबाट लेदो बगेको भनिएको छ, त्यहाँ हेर्छौं। साथै मृतक र बेपत्ताका आफन्तहरूसँग पनि कुराकानी गर्छौं,’ उनले भने।
पीडित परिवारले मृतकको शव अस्पतालमा गल्न थालेको गुनासो गरेका थिए। त्यसबारे अस्पताल प्रशासनले शव गृहलाई व्यवस्थित गराउनुपर्ने विषय उनले बताए।
गृहमन्त्री रमेश लेखकले सोमबार पदभार सम्हाल्दै घटना कसरी भएको भन्ने विषयमा अध्ययन गर्न सहसचिव रिजालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदललाई १० दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ।
कार्यदलले घटना कसरी भएको, कसको कमी-कमजोरीले घटना भएको हो भन्ने विषयमा अध्ययन गर्ने सहसचिव रिजालले बताए। अहिलेलाई सिमलताल घटनालाई केन्द्रित भएर अध्ययन गर्ने र यस्तै प्रकृतिका खोला भएका ठाउँहरूको पनि पहिचानको प्रयास गर्ने उनले बताए।
तपाईको प्रतिक्रिया