चितवन – चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रबार त्रिशूलीमा खसेका दुई वटा डिलक्स बस अझै फेला परेका छैनन् । शुक्रबार र शनिबार दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आज पनि बिहानैदेखि खोजी कार्य सुरु गरिने भएको हो । बस फेला नपरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी अब ठुलो म्याग्नेटको सहायताले खोजी गरिने जानकारी दिएको हो ।
खोजी कार्यको लागि सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
घटना भएको दुई दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरे पनि बस नभेटिएपछि ठुलो म्याग्नेटको सहायताले खोजी गर्न लागिएको हो ।
शनिबार बेपत्ता यात्रीमध्ये तीनजनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार मृतावस्थामा तीनवटा शव भेटिएकोमा दुई जनाको पहिचान खुलेको छ ।
पहिचान खुल्नेमा सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह रहेका छन् । साहको शव आज बिहान ११ बजे र माझीको शव साँझ भेटिएको हो । माझीका बुबा रवीन्द्रकिशोर माझी र साहका दाजुले सनाखत गरेको प्रहरी जनाएको छ ।
आज बिहान ७ बजेबाट पुनः काम सुरु गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार आइज गृह सचिवसहितका सुरक्षा निकाय प्रमुखहरूले घटनास्थलको निरीक्षण गर्ने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया