पोखरा – अविरल बर्षासँगै गएको पहिरोले घर बगाउँदा कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु भएको छ।
पोखरा महानगरपालिका–१९ तललाकोट टारीमा एकै परिवारको ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा पोखरा–१९ तल्लाकोट टारीका ४६ वर्षीय कुलबहादुर परियार, उनका श्रीमती ४३ वर्षीय मनकुमारी परियार, आमा ८५ वर्षीय लक्ष्मी परियार, छोरी १५ वर्षीय प्रशना परियार, छोरी चितवन घर भएकी प्रभा परियार, ज्वाँइ २५ वर्षीय अस्मित परियार र छिमेकी ५६ वर्षीय राधिका परियार रहेका छन् ।
पहिरोमा परेकी छोरी प्रभा र ज्वाँइ अस्मित चितवनबाट ससुराली पोखरा आएका थिए भने छिमेकी राधिका उद्धारमा गएका बेला लडेर मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।
पहिरोमा परेर मृत्यु भएकी राधिकाको छोरा ३१ वर्षीय कुमार परियार र मृतक कुलबहादुरका छोरा १७ वर्षीय पवन परियार घाइते छन् । उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
तपाईको प्रतिक्रिया