काठमाडौ – आईसीसी टी–२० विश्वकप क्रिकेटको बिहीबार बिहान खेलिएको सुपर–८ चरणको खेलमा इङ्गल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको इङ्गल्यान्डले भने १७।३ ओभरमा दुई विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो ।
इङ्गल्यान्डको जितमा ओपनर फिल साल्टले अविजित ८७ रनको योगदान गरे । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ४७ बलको सामना गरी पाँच छक्का र सात चौका पनि प्रहार गरे । अर्का ओपनर जस बट्लरले पनि २५ रन बनाए ।
कप्तान बट्लरले २२ बलमा दुई चौका प्रहार गरे । ओपनिङ विकेटका लागि साल्ट र बट्लरले ६७ रनको साझेदारी गरे । चौथो नम्बरका ब्याट्सम्यान जोनी बेयरस्टोले पनि अविजित ४८ रन बनाए । उनले केवल २६ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए ।
मोइन अलीले टोलीको खातामा १३ रन थपे । क्यारेबियन टोलीका बलर आन्द्रे रसेल र रोस्टन चेजले एक–एक विकेट हात पारे । त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि ओपनर जोन्सन चाल्र्सले सर्वाधिक ३८ रन बनाएका थिए ।
निकोलस पुरन र कप्तान रोभपन पोवेलले ३६–३६ रन बटुले । सेरफन रुथरफोर्ड २८ रनमा अविजित रहे । ओपनर ब्रान्डन किङले २३ रन बनाए । उनी रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिएका थिए । इङ्गल्यान्डका बलर जोफ्रा आर्चर, अदिल रसिद, मोइन अली र लियाम लिभिङ्स्टोनले एक–एक विकेट लिए ।
तपाईको प्रतिक्रिया