काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११ जना राजदूत फिर्ता बोलाउने समय ठीक नभएको घुमाउरो स्वीकार गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिएर नयाँ दिल्लीबाट फर्कने क्रममा प्रचण्डले मन्त्रीपरिषदले यो निर्णय गर्दा आफ्नो आसन्न भारत भ्रमणबारे ध्यान नगएको बताएका छन। त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो भ्रमणको सम्मुखमा राजदूत फिर्ताको निर्णय हुनु संयोग मात्रै भएको बताए ।
‘राजदूतज्यू मेरो भ्रमणमा पनि सँगै हुनुहुन्थ्यो । उहाँले सक्रिय भूमिका खेल्नुभयो । मैले उहाँलाई धन्यवाद भनेर आएको छु । त्यही बेला पर्नु संयोग हो । यो कुरा त्यति ध्यान कसैको पनि गएन । क्याबिनेटमा यो कुरा प्रस्तुत त भयो । तर, दुई दिन रोक्न पनि सकिन्थ्यो । ध्यान नगएकै हो’, प्रचण्डले भने ।
प्रधानमन्त्रीले वर्तमान सत्ता गठबन्धनमा कुनै पनि समस्या नआएको प्रष्ट पारे । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको विषयमा गरेको टिप्पणीलाई सामान्य रुपमा लिएको उनले बताए ।
प्रधानमन्त्रीलाई पत्रकारले यो गठवन्धन टुट्ने चर्चा सुरु भएको बारे सोधेका थिए । जवाफमा प्रधानमन्त्रीले डेढ वर्षदेखि नै आफ्नो नेतृत्वको गठबन्धन टुट्ने चर्चा हुने गरेको उल्लेख गरे । ‘यो गठबन्धन टुट्दैन । पूरै कार्यकाल छल्छ, हेर्दै जानुस्’, उनले भने ।
तपाईको प्रतिक्रिया