पाल्पा – तिनाउ खोलामा ३ दिनमा ३ जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना बालकसहित दुई जना पुरुष छन् ।
शनिबार आइतबार र सोमबार गरी ३ दिनमा भारतबाट गर्मी छल्न आएका तीन जना भारतीय नागरिकको डुबेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।
सोमबार निता गाउँपालिका–३, झुम्सा लामेदमारस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतको महाराजगञ्ज बोधहनिथाना बसहियाका २३ वर्षीय मुकुन्द शर्माको अचानक पानीमा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार उनीसँगै आएका अन्य तीन जना साथीहरुले तत्काल उद्दार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेकोमा डाक्टरले चेकजाँच गर्दा शर्मालाई मृत घोषणा गरेको थियो ।
यस्तै आइतबार भारतकै गोरखपुर खाना सैजन्वा रङ्गौलीग्राम उत्तर प्रदेशका अन्दाजी १५ वर्षीय आर्यन कुमारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार पनि सोही स्थानमा भारतको कानपुरका ३५ वर्षीय फहीम अहमदको नुहाउने क्रममा डुबेर मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया