काठमाडौं – पहिलो पटक महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्यमा रहेको नेपालले आज (शुक्रबार) थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । आजको खेल जितेमा नेपाल सिधै ग्लोबल क्यालिफायरमा पुग्नेछ ।
थाइल्याण्डसँग पराजित भएमा नेपालको विश्वकपको यात्रामा फेरि एसिया छनोटमै सकिनेछ । नेपालको महिला टोलीले अहिलेसम्म विश्वकप खेलेको छैन ।
तर दुई पटक एसिया कपमा सहभागी भएको नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश जस्ता टिमहरुसँग खेलिसकेको छ । नेपाली टिमका कप्तान रुबिना क्षेत्री र प्रशिक्षक सामसन जंग थापाले थाइल्याण्ड विरुद्धको सेमिफाइनल खेल महत्वपूर्ण भएको र गल्ती नगरी खेल्नुपर्ने बताएका छन् ।
नेपाले समूह विजेता बनेर सेमिफाइनलमा हङकङसँग खेल्ने योजना बनाएको थियो । थाइल्याण्डभन्दा हङकङ नेपालका लागि कमजोर प्रतिद्वन्द्वी थियो । तर समूह चरणको अन्तिम खेल वर्षाका कारण हुन नसकेपछि नेपालले यूएईसँग अंक बाँड्यो र रन रेटका आधारमा यूएई समूह विजेता बन्यो ।
नेपाल भर्सेस थाइल्याण्ड हेड टु हेड
टी–२० अन्तर्राष्ट्रियमा नेपाल थाइल्याण्ड बीच दुई खेल भएको छ । दुवैमा नेपाल पराजित भएको थियो । यी दुई टोली चार वर्षपछि खेल्न लागेको हुन् । जारी विश्वकप छनोटअघि नेपाल र थाइल्याण्डबीच खेल हुने तय थियो तर वर्षाका कारण हुन सकेन ।
नेपाल र थाइल्याण्ड यसअघि २०१९मा टी–२० अन्तर्राष्ट्रियमा दुई पटक खेलेका थिए । आईसीसी वुमन्स टी–२० विश्वकप एसिया रिजन छनोटमा नेपाल ५७ रनले पराजित भएको थियो । थाइल्याण्ड टी–२० स्म्यासमा नेपाल ७० रनले पराजित भएको थियो । त्यसअघि वुमन्स टी२० एसिया कप २०१६–१७ नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित भएको थियो ।
तपाईको प्रतिक्रिया