काठमाडौ, भाद्र ७- एकीकृत समाजवादीले महाधिवेशन माघमा गर्ने भएको छ।
ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले माघ १४–१८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। अब बस्ने सचिवालय बैठकले महाधिवेशनबारे निर्णय गर्नेछ। नेकपा (एमाले) बाट बिद्रोह गरेर बनेको समाजवादीको यो पहिलो महाधिवेशन हो। तर समाजवादीले उक्त महाधिवेशनलाई दशौं महाधिवेशन भनेका छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीले आगामी असोज महिनामा पार्टीको मुद्दाहरु राष्ट्रलाई सुनाउन मेची महाकाली राष्ट्रिय अभियान चलाउने केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ । अभियानको विस्तृत योजना सचिवालयले गर्नेछ ।
बैठकले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक तथा वैचारिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । त्यसैगरी महाधिवेशन अघि पार्टीमा युवा सहभागिता बढाउने उद्देश्यले युवा विद्यार्थी लक्षित विशेष कार्यक्रमहरु सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया