बिराटनगर, भाद्र १ – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आउने भदौ ४ (सोमबार) गते प्रदेश सभाबाटविश्वासको मत लिने भएका छन्।
भदौ ३ मा विश्वासको मत लिनेगरी मुख्यमन्त्री थापाले शुक्रबार नै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएको भएता पनि सभामुखको भूमिका निर्वाह गरिरहेकी उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव भदौ ४ गते दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा पेस गर्नेगरी तोकेकी हुन्।
थापा साउन १६ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए। एमाले नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि थापा पहिलोपटक असार २१ गते कोशीको मुख्यमन्त्री बनेका थिए।
कोशीमा सत्ता गठबन्धनका ४७ सांसद छन्। विपक्षी दल एमाले र राप्रपाका गरी ४६ सांसद छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने दिनसम्म एमालेबाट उपसभामुख बनेकी सिर्जना दनुवारले राजीनामा दिने चर्चा पनि छ। सभामुख र उपसभामुख रिक्त हुँदा ज्येष्ठ सदस्यले सदन चलाउने प्रावधान छ। त्यसकारण गठबन्धनले चलाखी गर्दै ज्येष्ठ सदस्य रहेका कांग्रेस सांसद गयानन्द मण्डललाई राज्यमन्त्री बनाइसकेको छ।
तपाईको प्रतिक्रिया