संखुवासभा, साउन ३२ – संखुवासभा कारागारबाट भाग्न खोज्ने दुई जना कैदीलाई कारागारभित्रै यातना दिएर हत्या गरेपछि मात्रै बिहान अस्पताल पुर्याइएको मानव अधिकारवादी संघ–संस्थाहरूले निष्कर्ष निकालेका छन।
संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु प्रकरणमा कारागार प्रशासन तथा प्रहरीहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
सरकारी पक्षबाट गठित समितिहरूले छानबिन प्रतिवेदन प्रकाशन गर्नु अगावै अधिकारवादी संस्थाहरूले स्थलगत अध्ययन पछि आफ्नो निष्कर्ष सार्वजनिक गरेका हुन्।
इन्सेक कोशी प्रदेशका संयोजक सोमराज थापाले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनमा दुई कैदीलाई पाशविक रूपमा कुटपिट गरेर हत्या गरेको बताए। ‘पहिले कारागारभित्रै ज्यादै पाशविक रूपमा कुटपिट गरेर हत्या गरेको र उनीहरूको मृत्यु भइसकेपछि बिहान बल्ल अस्पताल लगेको देखिएको छ’, उनले भने, ‘भाग्न खोजेका बेला उनीहरूलाई कारागार सुरक्षामा खटिएका प्रहरीले नियन्त्रणमा लिए। त्यसपछि प्रहरी र कैदीहरू मिलेर ज्यानै जाने गरी कुटपिट गरेको देखिन्छ। जब उनीहरूको मृत्यु भयो, बल्ल अस्पतालतिर लगेको देखियो।’
घटनामा संलग्न रहेको भन्दै पीडितका परिवारले किटानी जाहेरी दिएपछि कारागार सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी प्रहरी नियन्त्रणमा छन्। निमित्त जेलर राजेन्द्र घिमिरे फरार छन्।
उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि मात्रै परिवारले घटनाको ६ दिनपछि शव बुझेका थिए।
तपाईको प्रतिक्रिया