काठमाडौं साउन ३२ – नेकपा एमालेले पार्टी र भ्रातृ संगठनका कार्यक्रममा आफ्ना जीवित नेतामध्ये अध्यक्ष केपी शर्मा ओलीको मात्रै तस्वीर राख्न पाइने गरी सर्कुलर गर्ने तयारी गरेको छ । सचिवालय बैठकमार्फत् एमालेले यस्तो निर्णय गरेको हो ।
अध्यक्ष ओलीले पार्टीको केन्द्रीय उद्योग तथा वाणिज्य विभागले आयोजना गरेको कार्यक्रममा सार्वजनिक कार्यक्रम व्यवस्थापन सम्बन्धी सचिवालयको निर्णय सुनाएका थिए । उनले निर्णय सुनाए पनि एमालेले औपचारिक रुपमा सर्कुलर पठाउन बाँकी छ । पार्टी उपमहासचिव विष्णु रिमालका अनुसार बिहीबार साँझ उक्त सर्कुलर जारी गरिने छ ।
त्यस्तै ओलीले फेसबुकमार्फत कार्यक्रम व्यवस्थापनबारे विभिन्न निर्णय गरेको खुलाएका छन् । ‘फेसबुक ट्वीटरमा मलाई प्राप्त म्यासेजहरुमा धेरैजना साथीहरुले कार्यक्रमहरुमा धेरैलाई आसन ग्रहण गराएर समय बर्बाद गर्नुभएन भन्ने सुझाव दिने गर्नु भएको थियो,’ उनले लेखेका छन्, ‘तिनै सुझावलाई मध्यनजर गरेर हाम्रो पार्टीले अस्तिको सचिवालय बैठकबाट यस सम्बन्धी निर्णय गरेको छ । यसैगरी अब अनुहारै छोपिनेगरी खादा–माला र कोट भन्दा ठूला व्याज लगाउने प्रचलन पनि बन्द गर्नु पर्छ ।’
तपाईको प्रतिक्रिया