काठमाण्डौ, साउन २९ – सत्ता गठबन्धनका शीर्ष नेताहरूले सुन प्रकरणको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक नहुने निष्कर्ष निकालेको छ ।
गठबन्धनको बैठकले उच्चस्तरीय छानबिन समिति बनाउँदा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेको अनुसन्धानलाई नै अवरोध हुने निष्कर्ष निकालेको हो। नेकपा (एकीकृत समाजवादी पार्टी) का नेता राजेन्द्र पाण्डेले यसरी छानबिन समिति बनाउँदा अहिले भइरहेको अनुसन्धानमा समेत असर हुने बैठकको निष्कर्ष हुने बताएका छन।
‘लामो समयदेखि संसद अवरोध छ। प्रतिपक्षीहरूले उच्चस्तरीय छानबिन समितिको माग गरिरहेका छन्। यता सिआइबीले सुन तस्करीको विषयमा छानबिन गरिरहेकै छ। यो अवस्थामा आवश्यक छ कि छैन भन्नेबारे छलफल भयो,’ उनले भने, ‘उच्चस्तरीय समिति माग्नु भनेको भइरहेको छानबिनलाई अवरोध गर्नु र अहिलेको छानबिनलाई डाइभर्ट गर्नु भन्ने खालको छलफल रह्यो।’
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत सहभागी थिए।
तपाईको प्रतिक्रिया