काठमाडौं, २६ साउन – शुक्रबार दिउँसो सुनकाण्डको आरोपमा पक्राउ परेका रोहन अडुकियालाई राजश्व अनुसन्धान विभाग र सिआइवी दुवैले बुझेन मानेका छैनन ।
एक क्वीन्टल सुनमा कनेक्सन देखिएको भन्दै राजश्व अनुसन्धान विभागले उनीसहित उनका बुबा व्यवसायी राकेश अडुकियालाई समेत कालोसूचीमा राख्न पत्राचार गरेको थियो । त्यही आधारमा शुक्रबार अध्यागमन विभागले उनलाई पक्राउ गरेको थियो ।
रावश्व अनुसन्धान विभागले सुनकाण्ड सम्वन्धी सबै विषयहरु केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) तिर गएकाले विभागको कार्य क्षेत्र तर्फ नपरेको अध्ययागमन प्रहरीलाई जानकारी दिएको छ ।
बिभागले सीआईबीको अनुसन्धानलाई सहयोग गर्नेबाहेक अरु आफूहरुको सरोकार नभएको बताएको छ ।
त्यस्तै सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यले आफूहरुको अनुसन्धानबाट हालसम्म अडुकियाको नेक्सस नखुलेको बताइन् । ‘कुनै तथ्यविना नियन्त्रणमा लिएर राख्ने कुरा भएन । भोलि अदालतबाट म्याद थप गर्न सकिने आधार हुनुपर्छ’, उनले भनिन्, ‘त्यसैले नियन्त्रणमा नलिएका हौं ।’
सीआईबीले र राजश्व अनुसन्धान बिभाग दुबैले अडुकियालाई लिन नमानेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले उनलाई फिर्ता लगेको छ । उनको विषयमा अब के गर्ने भन्ने स्पष्ट भइनसकेको विमानस्थल सुरक्षा कार्यालयका एक अधिकृतले बताए ।
तपाईको प्रतिक्रिया