काठमाडौं, साउन २६ – अमेरिकाको हवाई टापुमा पर्ने माउई काउन्टीको एक जंगलमा आगलागी भएको छ । आगलागीमा परी अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ ।
आगलागीमा परी ऐतिहासिक सहर लहेना नराम्ररी प्रभावित भएको छ । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्थाहरूले आगलागीमा परी कम्तिमा एक हजार मानिस अझै बेपत्ता रहेको बीबीसीले जनाएको छ ।
हवाईका गभर्नर जोस ग्रीनले आफ्नो फेसबुक पेजमा आगलागीको भिडियो शेयर गरेका छन् । उक्त भिडियो फुटेजमा आगलागीबाट शहर भग्नावशेषमा परिणत भएको देख्न सकिन्छ ।
यो घटनालाई गभर्नर ग्रीनले ‘असाधारण’ र ‘दुःखद’ भनेका छन् । उनले यस आगलागीबाट १ हजारभन्दा बढी भवन जलेर नष्ट हुने अनुमान गरेका छन् ।
उनले आगलागीलाई राज्यको इतिहासकै सबैभन्दा ठूलो विपद् भनेका छन् । उनले आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया