काठमाडौं, साउन २२ – पछिल्लो समय देशभरीनै फैलिँदै गएको आँखा पाक्ने रोगले महामारीको रूप लिन सक्ने जोखिम बढेको छ । आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यसको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको छ ।
‘जुन गतिमा आई फ्लुको संक्रमण बढिरहेको छ, यो खतराको संकेत हो,’ कीर्तिपुर आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. एरिक वैद्य भन्छन्, ‘एक व्यक्तिबाट अर्कोमा फैलिने यो संक्रमणले महामारीको रूप लिन सक्ने जोखिम देखिएको छ ।’ सामान्यतया मनसुनको समयमा बढी फैलने यो संक्रमण यस पटक भने विगतको दाँजोमा तीव्र रूपमा देशभर फैलिरहेको तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ प्राडा रोहित सैजुले बताए । यस पटकको संक्रमण भारत र नेपालको सीमावर्ती क्षेत्रबाट सुरु भएको हो ।
तपाईको प्रतिक्रिया