नयाँ दिल्ली, साउन २२ – राहुल गान्धीको सदस्यतालाई लोकसभा सचिवालयले सोमबार पुनःबहाली गरेको छ । केही दिनअघि सर्वोच्च अदालतले गुजरात उच्च अदालतको सजायमा रोक लगाएसँगै नेता गान्धी लोकसभा फर्किएका हुन् ।
भारतको सर्वोच्च अदालतले गत हप्ता अगस्ट ४ का दिन गरेको एक फैसलाले उनीविरूद्धको सजाय र वायनाड क्षेत्रबाट निर्वाचित सांसद सदस्य निलम्बनको निर्णय रोक्न आदेश सुनाएको थियो । सर्वोच्चको फैसलाको आधारमा लोक सभा सचिवालयले आज गान्धीको वायनाडबाट लोकसभाका लागि भएको प्रतिनिधित्वलाई पुनः बहाली गरेको हो ।
सर्वोच्च अदालतले शुक्रबार एक अन्तरिम आदेश जारी गर्दै ‘मोदी’ थरबारे गरेको टिप्पणीलाई लिएर आपराधिक मानहानिको मुद्दामा गान्धीको सजायमा रोक लगाएको थियो । गुजरात उच्च अदालतको आदेशलाई चुनौती दिने कांग्रेस नेताको अपिलमा सर्वोच्च अदालतले जुलाईमा गुजरात सरकार र उजुरीकर्तालाई सूचना जारी गरेको थियो ।
उक्त अदालतले यसअघि आफ्नो आदेशमा राहुललाई ‘मोदी’ थरबारे गरेको टिप्पणीका कारण सुरत अदालतले दुई वर्षको जेल सजाय सुनाएको आपराधिक मानहानिको मुद्दामा उनको सजाय रोक्न अस्वीकार गरेको थियो । यस मुद्दामा दोषी ठहर भएपछि गान्धीलाई मार्च २४ मा केरलाको वायनाडबाट सांसद पदका लागि अयोग्य घोषित गरिएको थियो ।
तपाईको प्रतिक्रिया