चितवन, साउन १९ – देवघाटमा अस्तु सेलाउन पुगेका दाङका एक जना युवा नारायणी नदीमा बगेर बेपत्ता भएका छन्।
शुक्रबार बिहान नारायणी नदीमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल बगेर बेपत्ता भएका छन्।
भुसाल आफ्नो मामाका छोरा रेमन्त बस्नेतको अस्तु सेलाउन देवघाट गएका थिए। इलाका प्रहरी कार्यालय देवघाटका सहायक हवल्दार वीरेन्द्र तामाङले शुक्रबार बिहान ७ बजेर १९ मिनेटमा भुसाल नदीमा बेपत्ता भएको र खोजी कार्य जारी रहेको सेतोपाटीलाई बताए।
बेपत्ता भुसालको खोजीका लागि गोताखोर पनि बोलाइएको छ। भुसाल नुहाउनका लागि नदीमा पसेका थिए।
‘किनारमा मोबाइल, पर्स र कपडालगायत राखेर नुहाउन भन्दै उहाँ नदी पस्नुभएको रहेछ,’ उनले भने, ‘त्रिशूली र कालीगण्डकी मिसिने दोभानबाट उहाँलाई बगाएको देखिन्छ, पुरोहितले दोभानतिर नजानु भनेका थिए रे, जानुभएछ।’
भुसाल जाजरकोटस्थित चौरजहारीको एक विद्यालयमा पढाउने गर्थे। उनका परिवार बाँकेस्थित कोहलपुरमा डेरा लिएर बस्ने गर्छन्। भुसालका ससुरा ईश्वरी बस्नेतले ज्वाइँ नारायणी नदीमा बेपत्ता भएको खबर आएको बताए। ‘हामी देवघाट जाँदैछौं,’ उनले भने।
तपाईको प्रतिक्रिया