काठमाडौं, साउन १८ – सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा सर्रे जागुअर्सले ग्लोबल टि२० क्यानडामा मिसिसौगा प्यान्थर्सलाई ८ विकेटले पराजित गरेको छ।
बुधबार राति भएको खेलमा जितका लागि पाएको ५७ रनको लक्ष्य पछ्याएको सर्रेले ९ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। सर्रेको जितमा मोहम्मद हरिसले ३७ रनको योगदान दिए। उनी २३ बलमा ६ चौका र १ छक्कासहित अविजित रहे।
प्यान्थर्सका सेसिल परवेज र उस्मान कादिरले समान १र१ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको प्यान्थर्स १४।३ ओभरमा ५६ रनमा अलआउट भएको थियो। प्यान्थर्सका श्रेयस मोभाले १७ र निखिल दत्तले १० रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
२३औँ जन्मदिनमा सन्दीपले ४ ओभरमा मात्रै ६ रन खर्चेर ३ विकेट लिए। उनले प्लेयर अफ द म्याच अवार्ड जिते। कप्तान इफ्तिखर अहमदले १३ रन खर्चेर २ विकेट लिए। म्याथ्यु फोर्डले २ ओभरमा ८ रन खर्चेर २ विकेट लिए। जारी सिजनमा सन्दीपले चौथो पटक अवार्ड जितेका हुन्। सन्दीपले प्लेयर अफ द म्याचबापत एक हजार डलर प्राप्त गरे। हिजो सन्दिपको जन्मदिन पनि परेको थियो ।
तपाईको प्रतिक्रिया