तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख तथा नेपाल कम्युनिस्ट पाटी(नेकपा)का नेता घनश्याम पाण्डे संग तुलसीपुर नगरका गतिविधि र समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर सूचनापत्रको साता कुराकानीमा यस पत्रिकाका सह–सम्पादक अनिल अधिकारीले टेलिफोन बाट गरेको कुराकानी सारसंक्षेपमा…
स्वागत छ यहा“लाई, सूचनापत्रको साता कुराकानीमा ?
धन्यवाद ।
तपाईको व्यस्तता आजभोलि केमा रहेको छ ?
अहिले कोभिड–१९ को जोखिम बढ्दो क्रममा छ । दाङ जिल्लाका विभिन्न क्षेत्रहरुमा समुदाय स्तरमै कोरोना देखिन थालेको छ । तुलसीपुर उपमहानगरपालिका भित्र पनि समुदायमा कोरोना देखिएको छ । कोरोना समुदायमा नफैलियोस् भन्ने उद्देश्य बोकी क्वारेन्टाइन, आइसोलेसन निर्माणमा हामी जुटेका छौं, सचेतनामूलक कार्यक्रम गरिरहेका छौं । विशेषगरी कोरोना नियन्त्रणमा तुलसीपुर उपमहानगरपालिकाले आफ्नो ध्यान केन्द्रित गरेको छ । बैठक, भेटघाट् र तुलसीपुर नगरकै काममा मेरो व्यस्तता रहेको छ ।
पुनः लकडाउन सुरु हु“दैछ, लकडाउनको अन्य वैकल्पिक उपाय छैनन् ?
विश्वव्यापी महामारी एवम् संकटको रुपमा देखा परेको कोभिड–१९ कारण मानवजातीको अस्तित्व नै संकटमा परेको छ । विश्व जगत नै कोभिड बाट त्रसित बनीरहेको अवस्थामा नेपाल पनि अछुतो रहन सकेन् । दिनप्रतिदिन कोभिड–१९ को संक्रमण बढ्दो क्रममा छ र यो समुदायमा फैलिरहेको छ, यसले भोलि भयावह रुप लिनसक्ने संकेत गरेको छ । कोभिड–१९ को संक्रमण दाङ जिल्लामा दिनप्रतिदिन बढीरहेको कारण लकडाउन गर्न स्थानीय सरकार र प्रशासन बाध्य भएको हो । नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै एकसाताका लागि लकडाउन गरिदै छ । स्वास्थ्य नै मानवको सबैभन्दा ठुलो धन भएकाले स्वस्थ रहनका लागि स्थानीय सरकार र प्रशासनले लकडाउन गर्दै छ, यसमा यहाँका जनताहरुले अवश्य साथ दिनुहुनेछ र पूर्णरुपमा लकडाउनको पालना गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौं ।
कोभिड–१९ परिक्षण र रोकथाममा तुलसीपुर उपमहानगरपालिकाले कस्तो भूमिका खेलेको छ ?
तुलसीपुर उपमहानगरपालिकाले कोभिड–१९ परिक्षण र रोकथामका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ । नगर क्षेत्रभित्र हुने भिडभाड नियन्त्रण गरेको छ, किट्नाशक औषधि छर्केको छ, नगरबासीलाई कोरोना बाट बच्ने सूचना प्रवाह गरेको छ, नगरका १९ वटै वडा कार्यालय मार्फत कोरोना बाट बच्ने सन्देश प्रवाह गरको छ, क्वारेन्टाइनको व्यवस्थापन गरेको छ, आईसोलेसन कक्ष निर्माण गरेको छ, भर्खरै तुलसीपुर क्षेत्रभित्र अन द स्पट स्वाव परिक्षणलाई निरन्तरता दिएको छ, क्वारेन्टाइन र आइसोलेसनको क्षमता बढाउने काममा लागेको छ, तुलसीपुर उपमहानगरपालिकाले कोभिड बाट बच्नलाई अपनाउने सम्पूर्ण नीति अवलम्बन गरेको छ ।
समृद्ध तुलसीपुरको नाराले सार्थकता पायो त ?
समृद्ध तुलसीपुरको नारा नगरबासीको नारा हो, समृद्ध हाम्रो चाहाना हो । समृद्ध एकैपटक फड्को मारेर आउँने होइन् यसै नगरका नगरबासीको साथ, सहयोगले कर्मिक रुपमा आउँने हो, त्यसैले समृद्ध तुलसीपुरको नाराले छिट्टै सार्थकता पाउँनेछ भन्ने हाम्रो बुझाई हो ।
तपाईले अघि सारेको तुलसीपुर स्मार्ट सिटीको अवधारणा पुरा भयो त ?
तुलसीपुर स्मार्ट सिटी बन्ने क्रममै छ । नगरबासीले स्मार्ट सिटी बनाउने विषयमा साथ, सहयोग दिदै आएका छन् । तुलसीपुर नगर भित्रका साँघुरा बाटोलाई फराकिलो बनाइएको छ, कालोपत्रे गरिएको छ, प्रत्येक वडालाई जोड्ने बाटो कालोपत्रे हुँदैछ । नयाँ बाटो को ट्रयाक सुरु भएको छ, नगरभित्रका ऐतीहासीक मठ,मन्दिरहरुको जिर्नोैद्वार गरिदै छ, क्लिन तुलसीपुर ग्रिन तुलसीपुरको अभियानले सार्थकता प्राप्त गर्दैछ, फोरलेन सडक निर्माण हुँदैछ, ग्रामिण सडकको स्तरउन्नती गरिदैछ, घुम्न जाऔं तुलसीपुर अभियानले आन्तरिक तथा वाह्य पर्यटनलाई आकर्षित गरिरहेको छ । हामी सबैको कडा मेहेनतका कारण छिट्टै स्मार्ट सिटीको अवधारण पुरा हुनेमा ढुक्क छौं ।
तुलसीपुरमा पाइलट कलेजको कुरा अघि बढेको छ, पाइलट कलेज भनेको के हो ?
नेपालमै उड्यान विषयको पढाई गर्ने पाइलट कोर्षको लागि तुलसीपुरमा पाइलट कलेजको सम्भावित अध्ययन सुरु भएको हो । उड्यान पढाईका लागि नेपालका युवायुवतीहरु विदेशिने क्रम बढेकाले नेपालमा पनि उड्यान सम्बन्धि पढाई हुन सक्छ भनेर तुलसीपुरमा पाइलट कलेजको अवधारण ल्याइएको हो । तुलसीपुर क्षेत्रभित्र रहेको टरिगाउँ एयरपोर्टमा पाइलट कक्षा सञ्चालन गर्न सकिन्छ भन्ने उद्देश्य बोकी पाइलट कलेजको स्थापनाका लागि हामीले पहल गरेका छौं ।
तुलसीपुर उपमहानगरपालिका नगरबासीको चाहना अनुरुप चलेको छ ?
तुलसीपुर उपमहानगरपालिका नगरबासीकै चाहना अनुरुप अघि बढेको छ । नगरमा हुने सम्पूर्ण गतिविधिमा नगरबासीको सहयोग रहेको छ । सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा नगरबासीको सल्लाह सुझावलाई उपमहानगरपालिकाले शिरोधार्य गर्दै आएको छ । नगरबासीको चाहाना भिन्नभिन्न हुनसक्छ तरपनि हामीले जनचाहाना अनुसार काम गर्ने गरेका छौं । आदिवासी, जनजाती, विपन्न, गरिब परिवारका लागि प्याकेज मार्फत कार्यक्रम गरिरहेका छौं । जनचाहाना अनुसार विकास निर्माणलाई तीव्ररुपमा अघि बढाएका छौं ।
नगरबासीको चाहाना विपरित कर बढाइयो भन्ने आरोपलाई तपाई के भन्नुहुन्छ ?
तुलसीपुर उपमहानगरपालिकाले कर बढाएको होइन, दायरा बढाएको हो, कर नतिर्ने प्रवृतीको अन्त्य गरेको हो । कर तिर्नु सचेत नागरिकको दायित्व हो तर आफुले तिरेको कर सही ठाउँमा सदुपयोग भएको छ छैन त्यो मुख्य विषय हो । तुलसीपुर उपमहानगरपालिकाले लिएको कर कुन ठाउँमा र के कामका लागि खर्च भयो यो विषयमा नगरबासीले चासो लिन जरुरी छ ।
तुलसीपुर क्षेत्रभित्र धेरै विकास निर्माणका काम अलपत्र छन् समयमै किन सम्पन्न हुन सकेनन् ?
तुलसीपुर क्षेत्रभित्र विकास निर्माणका काम अलपत्र परेका छैनन् निरन्तरतामा रहेका छन् । तुलसीपुर उपमहानगरपालिकाकै विकास निर्माणका कामहरुलाई नियालेर हेर्ने हो भने ९५ प्रतिशत काम सम्पन्न भइसकेका छन् । एकाध घटना बाहेक अरु कामहरु निरन्तर भइरहेका छन् । तुलसीपुर क्षेत्रभित्रै संघीय र प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । संघीय सरकार र प्रदेश सरकारबाट हुने काम कँहिकतै ढिलासुस्ती भएको होला तर तुलसीपुर क्षेत्रभित्र विकास निर्माण काम कँहिकतै अलपत्र परेका छैनन् निरन्तरतामा रहेका छन् ।
तुलसीपुर नगरवासीलाई केही सल्लाह सुझाव छ ?
विश्वव्यापी संकट एवम् महामारीको रुपमा देखा परेको नोवेल कोभिड–१९ कोरोना भाइरसका कारण आमनागरिकको जनजीवन प्रभावित बनेको छ । मानव अस्तित्वलाई नै संकटमा कोरोनाले पार्ने संकेत गरेको छ । विश्व जगत नै कोराना बाट त्रसित बनीरहेको अवस्थामा नेपाल पनि अछुतो रहन सकेन । अहिले कोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा पनि बढीरहेको छ । समुदायमा कोरोना फैलिरहेको छ । तुलसीपुर उपमहानगरपालिकाले अन द स्पट स्वाव परिक्षण गरिरहेको छ । जनचेतनामूलक कार्यक्रमहरु गरिरहेको छ । नगरबासीको स्वास्थ्यलाई ख्याल गर्दै नगर क्षेत्रका विभिन्न टोलहरुमा सावुनपानीले हात धुने प्रवन्ध मिलाएको छ । किट्नाशक औषधि छर्किरहेको छ । जुन रफ्तारमा कोरोना संक्रमितको संख्या बढ्दैछ त्यसले भयावह रुप लिने संकेत गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले नगरवासीको स्वास्थ्यको ख्याल गर्दै परिक्षणको दायरा बढाएका्े छ । मानव स्वास्थ्य भन्दा ठूलो अरु कुनै धन रहेनछ त्यसैले सामाजिक दुरी कायम गर्दै कोरोना संग सतर्क रहँदै परिवारभित्र सिमिति रहि आइतबार देखि सुरु हुन लागेको लकडाउनको पूर्णरुपमा पालना गर्न हार्दिक अनुरोध गर्दछु । कोरोना बाट बचौं अनि बचाऔं, आफ्नो स्वास्थ्यको ख्याल आफै गरौं । तपाईहरुको सल्लाह सुझाव र सहयोगको आवश्यकता हामीलाई निरन्तर रहिरहनेछ, तपाईहरुको सेवाको लागि तुलसीपुर उपमहानगरपालिका तन,मन, वचनले लागिरहने प्रतिवद्धता जाहेर गर्दछु ।
अन्त्यमा …………………?
मलाई तुलसीपुर उपमहानगरापालिका र समसामियक विषयमा मेरा विचारहरु राख्ने अवसर प्रदान गर्नुभएकोमा तपाई लगायत यस सूचनापत्र साप्ताहिक पत्रिकालाई धन्यवाद !
(सुचनापत्र साप्ताहिकबाट साभार)
समृद्द तुल्सीपुरको नारा नगरबासीको नारा हो,समृद्द तुल्सीपुर हाम्रो चाहना हो:पाण्डे

