रास्ट्रीयताको सवालमा सबै दलको एजेन्डा साझा बन्नुपर्छ :बिश्वकर्मा
- नयाँ शिविर
- २०७७ भाद्र १३ शनिवार

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य तथा समाजसेवी कोमल विश्वकर्मासंग सूचनापत्रका लागि गरिएको विशेष कुराकानी…
यहाँलाइ स्वागत छ ।
धन्यवाद ।
केमा व्यस्त हुनुहुन्छ आजभोलि ?
विश्वव्यापि संकट निम्त्याइरहेको कोराना भाईरसको संक्रमणबाट जोगिन सेल्फ क्वारेन्टाइनमा बसेर पनि पार्टीले दिएको जिम्मेवारीलाई पुरा गरिरहेको छु । यस महामारिबाट आफु बच्न र अरुलाई सहयोग गर्नु पर्दछ भन्ने जनचेतना जगाउनमा क्रियाशिल छु । साथै सुरक्षित रहन्दै आफ्नो व्यवसाय तर्फ पनि क्रियाशील छु ।
पार्टीको काममा छु भन्नु भयो, संगठन अवस्था कस्तो छ ?
राप्रपाको संगठन देशव्यापी छ । जनताको आर्कषण बढिरहेको छ । जनताको सुख दुःखमा निरन्तर पार्टीले साथ दिएको छ । पार्टीका जनवर्गीय संगठनहरुले पनि संगठनका अभियानलाई तीव्र गतिमा अघि बढाएका छन् । जनताको तन मनमा हामी छौं भन्ने कुरा नै हो । हामी जातियता नारा लगाउदैनौं । आदिवासी, जनजाति, दलित कसैलाई पनि पक्षपात गरेको छैन् । सबैलाई सम्मान मान्ने र अवसर पनि दिएको छ । तसर्थ नेपाली जनतालाई राप्रपाको सिद्धान्त बुझाउन नसके कै कारण हाम्रो संगठन अलि कमजोर देखिएको मात्र हो । जनताको नजरमा राप्रपा बसेको छ ।
पार्टी पटक पटक विभाजन भैरहन्छ नि कारण के ?
राप्रपा अब एक भैईसक्यो । फेरि फुटने कुराको कल्पना नगरौं । सैद्धान्तिक मतभेद नभएपनि पटक पटक पार्टी विभाजन हुनाले कार्यकर्तामा निरास भएका थिए । नेतृत्व तहमा रहेका नेताहरुका मतभेदका कारण पार्टी पटक पटक विभाजन हुँदै आएको हो । जसको प्रत्यक्ष असर कार्यकर्ताहरुमा परेको हो । कार्यकर्ताहरुको भावना विपरित केन्द्रीय नेतृत्व चल्दा पार्टीको यो अवस्था भएको हो । हिजो मुलुकको तेस्रो शक्ति भएको राप्रपा अहिले राष्ट्रिय पार्टी हुन सकेन यो सबैभन्दा दुखदायी कुरा हो । पार्टी विभाजनले ल्याएको विचलनलाई नेतृत्व तहले अब राम्ररी बुझिरहेको छ ।
अहिले कस्तो कार्यक्रम अघि सारेको छ ?
राष्ट्रियता, प्रजातन्त्र, उदारवाद, संंवैधानिक राजसंस्था, बहुदलीय व्यवस्था र हिन्दु राष्ट्र भनेर राप्रपाले विगतदेखि नै बोल्दै आएको छ । हिन्दुराष्ट्र कायम गराउनलाई सडकदेखि सदनसम्म आवज उठाउदै आएको छ । ढिलो चाँडो त्यो नभई सुखै छैन । हिन्दु राष्ट्र कायम गर्नका लागि हामीले विभिन्न कार्यक्रमहरु लिई जनता माझ पुगिरहेका छौं । हाम्रो पार्टीले यहाँको धर्म, संस्कृति, परम्परा, रीतिरिवाजको संरक्षण र सम्वद्र्धन गर्दै मुलुकलाई विश्वको एक मात्र हिन्दुराष्ट्र घोषणा गराउने दृढ संकल्प साथ अघि बढेको जानकारी गराउन चाहन्छु ।
मुलुक धर्म निरक्षेप भईसकेको छ राप्रपाले हिन्दु राष्ट्रको माग गर्नु सुहाउछ त ?
राप्रपाले जनताको चाहना अनुसार नै हिन्दु राष्ट्रको माग गरेको हो । ९४ प्रतिशत ॐकार परिवार मुलुक भित्र रहेका छन् । जो हिन्दुराष्ट्रप्रति आस्थावान छन् । आफ्नो धर्म, संस्कृति र परम्पराको पहिचानको लागि जनताले हिन्दु राष्ट्रको माग गरेका छन् । विगतमा हामीले आलोचनात्मक रुपमा धर्म निरक्षेपलाई स्वीकारेका थियौं तर जनताको चाहना त्यो रहेनछ । हाम्रो मन, मुटुभित्र हिन्दु राष्टू नै छ । लोकतन्त्रमा पार्टीले आफ्नो एजेण्डा जनता माझ लैजान पाउनु उसको नैसर्गिक अधिकार हो । सोही अधिकारको प्रयोग गर्दै राप्रपाले हिन्दुराष्टू पुनस्थापनाको माग गरिरहेको छ ।
जनतामाझ यहि कार्यक्रम लिएर जानु हुन्छ त ?
नेपालको राष्ट्रियताका विषयमा सबै एकतावद्ध हुनको लागि आह्वान गर्दै हामी जनतामाझ गैरहेका छौं । राष्ट्रियताका मुद्दाहरु जनता माझ लिएर गएका छौं । सरकारले गरेका गलत कामहरुको भण्डाफोर गर्दै जनतालाई सचेत र संगठित गर्दैछौं ।
तपाईले भनेको जस्तै राजसंस्था पुनःस्थापित हुन्छ त ? कि बकबास मात्रै हो ?
राजनीतिको शब्दकोषमा असम्भव भन्ने केही छैन । जनताले चाहे जस्तोसुकै कार्य पनि सम्भव हुन्छ । इतिहासलाई हे¥यौं भने पनि कयौं उदाहरणहरु हाम्रा सामु छन् । जनताको चाहना राजसंस्था पुनःस्थापित गराउने भयो भने राजसंस्था अवश्य पुनःस्थापित हुन्छ ।
अहिले गणतन्त्र र धर्म निरिक्षेताको नाममा ठूला पार्टी र सरकारले भ्रष्टाचार बाहेक अरु के नै गरेका छन् त । शान्ति सुरक्षाको प्रत्याभूति जनताले गरेका छैनन् । चेलीहरु बलात्कृत भएका छन् । अपराधीले सजायको साटो संरक्षण पाइराखेको छ । हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराध दिन दिनै घटेका छन् । त्यसैले जनता वाक्क, दिक्क भएका छन् । यसको विकल्पमा संवैधानिक राजसंस्था पुनःस्थापित हुन्छ शंका गर्नु पर्दैन । २०६२÷०६३ को दोस्रो जनआन्दोलनको म्यान्डेड पनि संवैधानिक राजसंस्थाको नै हो ।
शुभेच्छुकलाई केही भन्नु छ ?
यतिबेला सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एक हुन जरुरी छ । राप्रपाका आम कार्यकर्ताहरु एक ढिक्का हुन जरुरी छ । संगठन सुदृढीकरण अभियानमा कार्यकर्ताको पूर्ण साथ सहयोगको अपेक्षा लिएको छु ।
अन्तमा केहि भए भन्न सक्नु हुन्छ ?
कोराना भाईरसबाट आफु पनि बच्न र अरुलाई बचाउन आग्रह गर्न चाहन्छु । अप्ठारोमा परेकोलाई सहयोग गरिदिन हुन सम्पुर्ण दाजु भाई दिदि बहिनीहरुलाई आह्वान गर्दछु । कोरोनाको संक्रमण फैलिदै संकट बनेको छ । न आतिन र घरमै बसेर महामारीको प्रतिकार गर्न सल्लाह दिन्छु । मलाई समसामयिक राजनीतिक विषय र राष्ट्रिय प्रजातन्त्र पार्टीको विचारलाई लोकप्रिय पत्रिका सूचनापत्र मार्फत जनतामाझ पु¥याउने सुअवसर दिनु भएकोमा त्यसका लागि धन्यवाद दिन चाहन्छु ।
(सुचनापत्र साप्ताहिकबाट साभार)
तपाईको प्रतिक्रिया