गोंगबु हत्या प्रकरणमा संलग्नलाई प्रहरीले गर्यो सार्बजनिक
- नयाँ शिविर
- २०७७ श्रावाण २७ मङ्गलबार

श्रावण २७,काठमाडौं । काठमाडौंको गोंगबुमा हत्या गरेर सुटकेशमा फालिएका कृष्णबहादुर बोहोराको हत्यामा संग्लन आरोपमा प्रहरीले दुईजनालाई सार्वजनिक गरेको छ ।
प्रहरीले चितवन कालिका नगरपालिका–७ घर भई हाल टोखा नगरपालिका १० नवज्योति मार्ग बस्ने ३७ वर्षीय कल्पना मुडभरी पौडेल र उनकी १५ वर्षीया छोरीलाई सार्वजनिक गरेको हो । कल्पना मोडलिङ क्षेत्रमा समेत काम गर्दै आएको खुलेको छ ।आइतबार बिहान टोखा नगरपालिका १० गोंगबु नवज्योति मार्गमा कालो रंगको सुटकेशबाट रगतजस्तो पदार्थ बगिरहेको सूचना प्रहरीसम्म पुगेको थियो ।
प्रहरी टोलीले उक्त सुटकेश खोली हेर्दा सुटकेशभित्र टाउकोबिनाको मानिसको शव फेला पारेको थियो । सोही स्थानको केही पर टाउकोलगायत शरीरको अन्य भाग झोलामै फेला परेको थियो ।
प्रहरीले हिजोमात्रै मृतकको सनाखत गरेको थियो । मृतक रोल्पा रून्तीगढी गाउँपालिका ७ घर भई हाल गोंगबुस्थित एक होटलमा बस्दै आएका ४५ वर्षीय कृष्ण बहादुर बोहोरा भएको खुलेपछि प्रहरीलाई अनुसन्धानमा सहजता भएको थियो ।
प्रहरी अनुसन्धानका क्रममा मृतक कृष्ण बहादुर बोहोरा कल्पनाको कोठामा बेला बेलामा आइ भेट्ने गरेको खुलेको छ ।
मृतकले कल्पनाको फोटो राखी फेक फेसबुक आईडी खोली चलाउने गरेको र आफु अनुकूल चल्नको लागि दबाब दिने गरेकोसमेत पाइएको छ ।
प्रहरीका अनुसार शनिबार मात्रै बोहरा आफु बसेको होटलबाट बा ७२ प ५६४४ नम्बरको स्कुटी प्रयोग गरी कल्पनाको कोठामा पुगेका थिए । सोही क्रममा कल्पनाले कृष्णबहादुरलाई दही, चिउरा, मासु र भोड्का खान खुवाएको खुलेको छ ।
दहीमा कल्पनाले ५ वटा निद्राको औषधि मिसाएर दिएको पाइएको छ ।
खानेकुरा खाएपछि बोहोरालाई लठ्ठ परी सुतेको मौकामा फलामको मारतोल (ह्याम्मर) ले मृतकको अण्डकोषमा प्रहार गरेको खुलेको छ ।
त्यसपछि मृतकलाई सलको प्रयोग गरी घाटीमा थिचेको र मरेको एकिन गरेको पाइएको छ ।
प्रहरीका अनुसार त्यसपछि कल्पना आफैँले धारिलो हतियार प्रयोग गरी टाउको र खुट्टा छिनाइ झोलामा राखी आफैँले फालेकी थिइन् ।
शवको बाँकी भाग कालो रंगको सुटकेशमा राखी पश्चिम बाटोको छेउमा फाली कोठामा फर्किएकी थिइन् ।
हत्यापछि बेलुकी बिरामी लिएर काठमाडौं आएर फर्किन लागेको चिनेजानेको एम्बुलेन्स ड्राइभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवन गएको पाइएको छ ।
अनुसन्धानको क्रममा कल्पना मुडभरी (पौडेल) घटनामा संलग्न भएको र उनकी छोरी शव व्यवस्थापनमा संलग्न रहेको खुलेको हो ।
प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा, घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल, सुटकेशको ह्यान्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु, स्लिपीङ ट्यावलेटको खोल र मोबाइल सेटहरु बरामद गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया