‘प्रधानमन्त्री ओलीको राष्ट्रियता कागजी बाघ मात्र’
- नयाँ शिविर
- २०७७ असार २८ आइतबार

असार २८,काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको बताउनुभएको छ । गण्डकी प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसँगको भर्चुअल बैठकमा नेता पौडेलले प्रधानमनत्री ओलीले राष्ट्रियताको मुद्दालाई कागजी बाघ मात्र बनाएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई कागजी बाघ बनाएकाले नेपाली भूमी फिर्ता गर्न नसक्ने नेता पौडेलले बताउनुभयो । पौडेलले वार्ता गर्ने बेलामा गाली गलौजमा उत्रिएर भारतसँगको वार्ताको वातावरण बिगारेको आरोप लगाए ।
वरिष्ठ नेता पौडेलले कम्युनिष्टहरुको राष्ट्रियता मात्र नभएर समाजवाद पनि कागजी बाघ भएको बताउनुभयो । पौडेलले कम्युनिष्टहरुले भन्ने समाजवाद, समानता तर काम भने भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माउने गरेको बताउनुभयो । पौडेलले गरिबी, अशिक्षा, तथा महामारी रोक्न कम्युनिष्ट सरकार असफल भएको उल्लेख गर्नुभयो। कम्युनिष्टहरुको जनतालाई झुक्याउने र सत्ता हत्याउने जालझेल भन्दा अरु कुनै काम गर्ने ढंग नभएको पौडेलको भनाई छ ।
वरिष्ठ पौडेलले नेपाली कांग्रेसको १४ औं महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शंका नगर्न पनि आम नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । पौडेलले फागुनमा महाधिवेशन गर्नका लागि प्रयाप्त समय भएको बताउनुहुँदै महाधिवेशन नगराउन सक्रिय तत्वलाई भने खबरदारी गर्न आग्रह गर्नुभयो। पौडेलले क्रियाशील सदस्य वितरण गरेको २ महिनामा सबै स्थानीय अधिवेशन सम्पन्न हुने स्पष्ट पार्नुभयो ।
पौडेलले पहिलो संविधानसभाको पालामा तत्कालीन सभामुख र प्रधानमन्त्रीले व्यवस्थाको बदनाम गराउनका लागि प्रधानमन्त्रीको चुनाव १७ १७ पटक गराएको स्मरण गर्नुहुँदै उनीहरुले नै आफ्नो पनि बदनाम गराएको बताउनुभयो । पौडेलले कम्युनिष्ट सिद्धान्त भएका सभामुख र प्रधानमन्त्रीले संसदीय व्यवस्थाको बदनाम गराउन आफ्नो र व्यवस्थाको बदनाम गराउने प्रधानमन्त्री चुनाव १७ पटक गराएको उल्लेख गर्नुभयो ।
तपाईको प्रतिक्रिया