असार २८,झापा । अविरल वर्षासँगै आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । मृतकलाई जिल्लाको झापा गाउँपालिकास्थित बिरिङ खोलामा आएको बाढीले बगाएको हो ।
गाउँपालिकाको वडानम्बर ५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको नेपाल रेडक्रसका झापा सभापति लोकराज ढकालले जानकारी दिनुभयो । खोलामा नुहाउँदै गरेका बेला आएको बाढीले उनलाई बगाएका रे मृतावस्थामा फेला पारेको स्थानीयले बताएका छन् ।
त्यस्तै कन्काई नदीमा आएको बाढीका कारण शिवसताक्षी वडानम्बर १० सुकुम्बासी बस्तीका ४ परिवार र गौरीगञ्ज वडानम्बर १ को एक परिवार विस्थापित भएका छन् । शिवसताक्षी वडानम्बर १० का १५ परिवार र गौरीगञ्ज वडानम्बर १ का १२ गरी २७ परिवार उच्च जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ ।
बाढीका कारण शिवसताक्षी वडानम्बर १० का प्रेमप्रसाद उप्रेती, तारा लिम्बू, हरिमाया ऋषिदेव र लालु मुसरको परिवार पूर्णरूपमा विस्थापित बनेको छ । विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेर दुई–दुई थान त्रिपाल र राहत सामग्री वितरण गरिएको छ ।
तपाईको प्रतिक्रिया