२६ असार,कास्की । अविरल वर्षाका कारण गएको पहिरोमा परी ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । गए राति पोखराका विभिन्न स्थानमा गएको पहिरोमा परी चार जनाको मृत्यु भएको हो ।
बिहीबार राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका वडानम्बर १८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको हो । घटनामा परी घाइते भएका अन्य ६ जनालाई मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
हमालका अनुसार थापाको घरमा बिहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए भन्नेबारे भने खुल्न सकेको छैन । प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । त्यस्तै, पोखरा महानगरपालिका वडानम्बर २५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरा वडानम्बर १८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उहाँका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको र स्थानीयवासीलाई राति नै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया