असार २५,सिन्धुपाल्चोक गत राति आएको भीषण बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा कम्तिमा १४ जना बेपत्ता भएका छन् भने २ शव प्राप्त भएको छ । राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको बाह्रबिसे नगरपालिकाका कर्मचारी सुनील थापाले जानकारी दिए । बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको छ ।खाँडिचौरभन्दा माथिको पुल बगाएको कारण प्रहरीहरु लामो बाटो भएर घटनास्थलसम्म पुग्नुपरेको थियो । घटनास्थलमा रहेका बाह्रबिसेका इन्सपेक्टर नवराज न्यौपानेका अनुसार पछिल्लो जानकारी अनुसार २ जनाको शव फेला परेको छ भने २ जना घाइते रहेका छन् । १४ जना हराइरहेका छन् । त्यस्तै, ११ घरमा पूर्णरुपमा क्षति भएको छ । बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ ।
तपाईको प्रतिक्रिया