बिश्ब स्वास्थ्य संगठनमा जागीर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
- नयाँ शिविर
- २०७७ असार २५ बिहीबार

असार २५,काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा जागिर लगाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राजधानीकाे तिनकुने बस्ने नवलपरासी बर्दघाट (सुस्ता पूर्व) देउचुली नगरपालिकाको वडानम्बर १५ प्रगतीनगरका ३४ वर्षीय बिजय पाण्डेलाई मंगलबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पाण्डेले चितवनको भरतपुर महानगरपालिका बस्ने अस्मिता अधिकारीलाई करिब १ वर्ष पहिले चिनजान गरी आफू डब्लुएचओको कर्मचारी भएकोले संस्थामा जागिर लगाइदिने प्रलोभन दिएको खुलेको छ । संस्थामा कर्मचारी माग भएको अवस्थामा जागिर लगाईदिने भन्दै गत वैशाख २९ गतेदेखि असार ७ गतेसम्म पटक/पटक गरी बैंक खाता तथा आईएमई मार्फत १ लाख ८२ हजार रुपैयाँ लिई सम्पर्क विहिन भएको भन्ने सूचनाका आधारमा पाण्डेलाई पक्राउ गरिएको हो ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई बानेश्वरबाट पक्राउ गरेको हो । पाण्डेले काठमाडौं शंखमुलमा धन बहादुर बिष्टले सञ्चालन गरेको फर्निचर पसलबाट १८ लाख रुपैयाँको फर्निचर लिन्छु भन्दै विश्वास दिलाई फर्निचर सञ्चालकबाट ५० हजार रुपैयाँ लिई ठगी गरेको समेत प्रहरीले जनाएको छ । त्यस्तै, पाण्डेले भरतपुर महानगरपालिका बस्ने निशानबाबु घिमिरेलाई पनि डब्लुएचओको कार्यालय ललितपुरमा जागिर लगाईदिने विश्वास दिलाई ३ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।
पाण्डेले अछाम तुर्माखाँद घर भएकी रञ्जु बुढालाई १ बर्षसम्म नक्कली कार्यालयमा काम लगाई तलब नदिई ठगी गरेको, नवलपरासी बस्ने दिपक खनाल, धन बहादुर क्षेत्री, मनाङ घर भएका कासी गुरुङ, ठेगाना नखुलेका सरिता भण्डारी र रमा घिमिरे लगायतका व्यक्तिहरुलाई डब्लुएचओमै जागिर लगाउने प्रलोभनमा ठगी गरेको पनि अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले पाण्डेबाट अन्य कोही ठगीमा परेको भए महानगरीय अपराध महाशाखा नयाँ बानेश्वर र महानगरीय प्रहरी परिसर टेकुमा सम्पर्क राख्न पनि अनुरोध गरेको छ । उनलाई ठगी सम्बन्धी कसूरमा कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको छ ।
तपाईको प्रतिक्रिया