नेकपाभित्र टकराव :एकता भन्दा विभाजन तर्फ आकर्षण !
- नयाँ शिविर
- २०७७ असार २२ सोमबार

असार २१,काठमाडौं । पार्टीको महत्त्वपूर्ण निकाय स्थायी कमिटी बैठक नै रोकेर निकास खोज्ने भनिएपनि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु शक्ति संघर्षमै रुमल्लिदा पार्टी जुट भन्दा पनि फुटतिरै उन्मुख भएको छ ।शुक्रबारको स्थायी समिति बैठकले शनिबार र आइतबार पार्टीमा बढेको विवाद मत्थर पार्न र सहमतिको बिन्दु खोज्न अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच वार्ता र संवाद गर्न समय दिएको थियो । तर, यो समयमा नेताहरुबीच संवादमार्फत समस्याको बिन्दु पहिल्याउने भन्दा पनि दुरी बढाउनेतर्फका गतिविधि नै केन्द्रीत भए । शुक्रबार बेलुका र शनिबार दिनभरका घटनाक्रम, भेटघाट र नेताहरुका अभिव्यक्ति सुन्दा पनि नेकपाभित्रको विवाद सितिमिति टुंगिने छनक देखिँदैन । स्पस्ट दुई ध्रुवमा विभाजित नेकपाका नेताहरु प्रधामन्त्री केपी शर्मा ओली समूह एकातिर र अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ तथा माधवकुमार नेपालहरु अर्कोतिर उभिएका छन् । यसैक्रममा उनीहरुले अन्य नेताहरुलाई समेत आआफ्नो कित्तामा आउन धम्कीपूर्ण शव्दावली नै प्रयोग गर्न थालेका छन् । यसको उदाहरण शनिबार प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले बालुवाटारमा मन्त्रिहरुलाई दिएको निर्देशन नै पर्याप्त छ । ओलीकोे शीतलनिवास भेटवार्ता र त्यसपछि बालुवाटारमा मन्त्रीहरूसँगको परामर्शका क्रममा दिएको अभिव्यक्तिले स्थितिलाई थप जटिल बनाएको नेकपाका एक स्थायी समिति सदस्यको भनाइ छ ।
उनका अनुसार प्रधानमन्त्री ओलीले आफु अध्यक्ष र प्रधानमन्त्री कुनै पद नछाड्ने भन्दै मन्त्रीपरिषदका अन्य सस्यहरुलाई समेत कित्ता छुट्टयाउन समयसीमा नै दिएका छन् ।
ओलीको उक्त निर्देशनपछि मन्त्रिहरुले स्पस्ट नभनेपनि उनी स्वयं पार्टी विभाजनको पक्षमा छन् भन्ने प्रष्ट भएको छ ।
उता, ओलीको विपक्षमा उभिएका प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरु पनि शनिबार दिनभर आफू पक्षीय नेताहरुसँग छलफलमा जुटे । प्रचण्ड निवास खुमलटारमा ६ सचिवालय सदस्यबीचको छलफलमा पार्टी फुटाउन दिन नहुने र त्यसका लागि आवश्यक पहल गर्ने निर्णय गरेको एक सचिवालय सदस्यले जानकारी दिए ।त्यस क्रममा प्रधानमन्त्री ओली विधि र पद्धतिभन्दा बाहिर गएको निष्कर्ष निकाल्दै सोमबार बस्ने स्थायी समितिले स्पष्ट निर्णय गर्नुपर्ने ठहर समेत गरेको छ ।
उता शुक्रबार नै उपाध्यक्ष बामदेव गौतमलाई ओली समूहका नेताहरुले आफ्नो कित्तामा ल्याउने विभिन्न प्रयास समेत गरेका थिए । त्यसका लागि राष्टपति विद्या भण्डारीसँग भेटवार्तादेखि गौतम निवास भैंसेपाटी पुगेर महासचिव विष्णु पौडेललगायतका नेताहरुले उनलाई फकाउने प्रयास गरेपनि सो प्रयास सफल हुन सकेन । गौतमले ग्रिन सिग्नल नदिएपछि ओलीपक्षले बालुवाटारमा मन्त्रिहरुलाई बोलाएर धम्क्याएको हुनसक्ने ओलीविरोधी खेमाको बुझाइ छ ।
तपाईको प्रतिक्रिया