बिओपीले मात्र सीमा सुरक्षा हुँदैन, जनतालाई जोडनुपर्छ : जनार्दन शर्मा
- नयाँ शिविर
- २०७७ असार १४ आइतबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाल–भारत सीमा सुरक्षाका लागि सीमा क्षेत्रमा बिओपी राखेरमात्रै नहुने भन्दै जनतालाई समेत जोड्नुपर्ने बताएका छन् । पार्टीको जारी स्थायी कमिटी बैठकमा शनिबार सीमा समस्याबारे आफ्नो धारणा राख्दै पूर्वगृहमन्त्री समेत रहेका शर्माले नेपालले अतिक्रमित भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि सिंगो देश राष्ट्रिय स्वाधीनताको लडाइँमा होमिएको बताए । राष्ट्रिय स्वाधीनताको लडाइँका दुईवटा पक्ष भएको भन्दै उनले जनतालाई सुसंगठित र एकताबद्ध परिचालन गर्दै कुटनैतिक,राजनैतिक,जनदबाबको एकीकृत योजना बनाउनु पर्नेमा जोड दिए । दुई देशका जनता बीचको सम्बन्ध,आवश्यकता र व्यवहारलाई पनि विश्लेषण गर्नुपर्छ । जनताबीचको सम्बन्धलाई सुदृढ गर्दै सरकारको गलत रबैया र हर्कतको विरोध गर्नुपर्छ’, शर्माको सुझाव छ । त्यस्तै उनले आर्थिक आत्मनिर्भरता, समृद्धिको बाटोका लागि उदार समाजवादी सिद्धान्तका आधारमा योजनाबद्ध ढंगले उत्पादक शक्तिको विकास गर्दै उत्पादनका साधनमाथि सामूदायिक र सामाजिक स्वामित्व स्थापना गर्ने बाटो अपनाउनुपर्ने धारणा राखे । ‘हाम्रा स्रोत साधनहरु नेपाली जनताले स्वतन्त्रतापूर्वक उपयोग र समृद्धिका लागि प्रयोग गर्न सक्ने अवस्था बनाउनुपर्छ । नकि कुनै शक्ति केन्द्रको योजनामा निजीकरण गर्ने,जनताले उपयोग गर्न नपाउने हुनुहुँदैन’, उनको भनाइ छ । योजनाबद्ध ढंगले पाइला चालेमात्र आत्मनिर्भर र स्वाधीन राष्ट्र निर्माणको आवश्यकता पूरा गर्न सकिने शर्माको भनाई छ ।उनले कालापानी क्षेत्रमा पूर्ण स्वामित्व कायम गर्न राजनैतिक र कुटनैतिक संवादका साथै राष्ट्रिय एकता र जनतामा आएको उत्साहलाई कायम राख्न केही सर्तहरू भएको भन्दै त्यो पार्टीको आन्तरिक एकता भएको बताए ।
‘त्यो एकताका लागि हामीले आ–आफ्नो अहम् छाडेर रुपान्तरित हुन जरुरी छ । कमीकमजोरी स्वीकार्न, आफैलाई सच्याउने, छलफल बहस गर्दै नयाँ निष्कर्षमा पुग्ने कुरामा रुचिपूर्वक लाग्नुपर्छ’, शर्माको भनाइ छ । उनले राष्ट्रको भविष्य रुपान्तरणका लागि पार्टीभित्र बहस, छलफल,आत्मआलोचना र संघर्ष हुनुपर्ने भएपनि कुर्सी फेरेर पार नलाग्ने दावी गरे ।‘चिन्तन बदल्नु पर्दछ । वस्तुगत परिस्थिति अनुरुप जनता र देशको आवाज अनुसार आफैलाइ फेर्नुपर्छ । मुख्य गरी नेतृत्वले त्यसमा पनि प्रमुख नेतृत्वले सही ढङ्गले सोच्नु पर्छ र व्यवहार गर्नुपर्छ’, शर्माले आफ्नै नेतृत्वलाई लक्षित गर्दै भने ।
तपाईको प्रतिक्रिया