डोनाल्ड ट्रम्पप्रति लक्षित गर्दै डब्लुएचओले दियो चेतावनी
- नयाँ शिविर
- २०७७ असार ८ सोमबार

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्ध लड्न विश्वव्यापी नेतृत्वको अभाव खड्किएको भन्दै चेतावनी दिएको छ । सो संगठनका प्रमुख टेड्रोस अधनोम घेब्रेयसस ले सोमबार एक स्वास्थ्य फोरमको भर्चुअल बैठकलाई सम्बोधन गर्दै विश्वमा कोभिड–१९ महामारीविरुद्ध लड्न विश्व नेतृत्वको अभाव खड्किदै गएको चेतावनी दिएका हुन् ।उनले भने– ‘विश्वको सबैभन्दा जरुरी आवश्यकता राष्ट्रिय एकता र विश्वव्यापी एकता हो । यस महामारीको राजनीतिकरणले अवस्थालाई थप बिगार्दै लगेको छ ।’ उनले थप भने– ‘अहिले हामीले सामना गरिरहेको सबैभन्दा ठूला खतरा कोरोना भाइरसको महामारीभन्दा पनि विश्वव्यापी एकता र विश्वव्यापी नेतृत्वको अभाव हो । विश्व नेताहरुले कोरोनाभाइरससँगै उत्पन्न महामारीलाई राजनीतिकरण गर्न पाउनुहुन्न, बरु एकताबद्ध भएर लड्नु पर्छ ।’ सङ्क्रमितहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको प्रति अपेक्षित सम्वेदलनशीलता विश्व नेताहरुमा नदेखिएको चिन्ता पनि उनले व्यक्त गरे ।राजनीतिकरण नगर्न र नेतृत्वको अभाव खड्किएको भन्ने उनको भनाइ विषेश गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति बढी लक्षित रहेको बताइएको छ । उनले अमेरिकामा पर्याप्त सतर्कता नअपनाइएको र राजनीतिक दाउपेचका कारण अनाहकमा धेरै मानिसको मृत्यु भइरहेको टिप्पणी समेत गरे । अमेरिकी राष्ट्रपति ट्रम्पले पनि विश्वभरी कोरोनाभाइरसको महामारी शुरु भएदेखि नै डब्लुएचओले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आलोचना गर्दै आएका छन् । उनले डब्लएचओको नेतृत्व चीनतर्फ ढल्किएको भन्दै सहयोग रकम समेत रोक्ने घोषणा गरिसकेका छन् । प्रमुख गेब्रेयेसुसले ब्राजिल, इराक, भारत, दक्षिणी तथा पश्चिमी अमेरिकी देशहरुको अवस्था प्रति पनि चिन्ता व्यक्त गरे ।ती देशहरुमा अझै पनि धेरै कोरोनाभाइरसबाट सङ्क्रमितहरु धेरै रहेको र अस्पतालहरुमा विरामीहरुको भिड भइरहेको उनले उल्लेख गरेका छन् । विश्वभरी पछिल्लो तीन महिना कोरोनाभइरसको महामारी फैलिएको छ । शुरुको तीन महिनामा विश्वभरी १० लाख मानिस सङ्क्रमित भएको र त्यति नै संख्यामा सङ्क्रमितहरु पछि ८ दिनमा बृद्धि भएको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनले भन्दै आएको छ– ‘यो महामारी अझै बढ्दैछ र यसको आर्थिक र अन्य प्रभाव दशकौंसम्म महसुस हुनेछ ।’ कोराना महामारीका कारण विश्वभर अहिलेसम्म करिब ४ लाख ७० हजार जनाको मृत्यु भैसकेको छ भने करिब ९० लाख व्यक्ति यो रोगबाट संक्रमित भैसकेका छन् ।
तपाईको प्रतिक्रिया