विदेशबाट फर्किने नेपालीको हवाई भाडा सरकारले व्यवहोर्नुपर्छ
- नयाँ शिविर
- २०७७ असार २ मङ्गलबार

पोखरा । नेपाली कांग्रेस संसदीय दल गण्डकीले विदेशबाट फर्किने नेपालीको हवाईभाडा सरकारले व्यवहोर्नुपर्ने माग राखेको छ ।
दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोलीले मंगलबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमार्फत उक्त मागसहित प्रधानमन्त्रीलाई २१ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
टोलीले नेपाल फर्कन चाहने विदेशमा रहेका नेपाली नागरिकहरुका लागि उपयुत्त व्यावस्था गरि हवाईभाडा लगायत अन्य खर्चहरु समेत सरकारले नै उपलब्ध गराउनुपर्ने माग गरेका हुन् ।
“नेपाल फर्कन चाहेका विदेशमा रहेका नागरिकहरुका लागि उपयुक्त व्यवस्था गर्न र हवाईभाडालगायत अन्य खर्च व्यवस्था गर्न नसक्नेको लागि सरकारले उपयुक्त व्यवस्था गरोस्,” विज्ञप्तिमा भनिएको छ ।
स्वास्थ्य सामग्री उपकरण खरिददेखि सम्पूर्ण क्षेत्रमा संस्थागत भ्रष्टाचारका साथै यस्तो बेला विदेशमा दुखमा परेका नेपालीलाई ल्याउन हवाई भाडामा व्यापक अनियमितता भएको विज्ञप्तिमा उल्लेख छ ।
“कात्रोमा पनि भ्रष्टाचार गर्ने आसुरी प्रवृत्तिका जिम्मेवार निकाय र व्यक्तिबाट जनता नठगिने जिम्मेवारी सरकारले लेओस्,” विज्ञप्तिमा भनिएको छ ।
टोलीलिे तत्काल आरडीटी परीक्षण रोक्न समेत माग गरेको छ । साथै कोरोना रोकथामका लागि गरिएको खर्च नियमित र पारदर्शी बनाउन सरकारसँग आग्रह गरिएको छ ।
डेडिकेटेड अस्पताल र आइसोलेसन वार्डमा भेन्टिलेटर र आईसीयूलगायत अत्यावश्यक स्वास्थ्य पूर्वाधार, उपकरण, सामग्री र जनशक्तिको तत्काल व्यवस्था माग गरिएको छ ।
दलले नियमित रुपमा सरकारलाई सुझाव र सल्लाह दिँदै आए पनि सरकारका बोली मात्र रहने आत्मुग्ध भएर स्वस्प्रशंसामा रमाउने, निर्णय गर्ने तर लागु नगर्ने निर्देशन दिने तर कार्यान्वयन नगर्ने गरेको भन्दै ज्ञापनपत्रमा यसप्रति खेद जनाइएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, “प्रतिपक्षको सकारात्मक सुझावलाई आत्मसात गरी यवहारमा उतार्न देखाएको उपेक्षा चिन्ताजनक र खेदजनक छ ।” विपतको यो असाधारण परिस्थितिमा कृषकलाई आवश्यक मल, बिउ र प्राविधिक सहयोग निशुल्क उपलब्ध गराउन, कृषकको उत्पादनको सहज बजारीकरण वा खरिद गर्ने व्यवस्था गर्न दलले माग गरेको छ ।
“उद्योगी व्यवसायीहरुले राहत महसुस गर्ने गरी बैंकको ब्याजदरमा कटौती, करमा छुट, ऋणको व्याजलाई पुनर्तालिकीकरण गरी ब्याज र किस्ता तिर्न सरल र समयावधि बढाउनेतर्फ सकारात्मक सम्बोधन गरियोस,” ज्ञापनपत्रमा भनिएको छ ।
कोभिड १९ का कारण अति प्रभावित भएको कृषि क्षेत्र, उद्योग व्यवसायलाई जीवित राख्न संघ सरकारले आवश्यक आर्थिक प्याकेज ल्याउने व्यवस्था गर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसको आग्रह छ । ज्ञापनपत्र बुझाउन गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने कांग्रेसका १५ सांसद पुगेका थिए । ६० सदस्यीय संसदमा कांग्रेस सांसद १५ जना नै हुन् ।
ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले प्रमुख प्रतिपक्षी दलको सुझाव र सल्लाहलाई ग्रहण गर्दै सरकार अगाडि बढिरहेको बताए । काम गर्ने सिलसिलामा कतिपय अवस्थामा कमजोरी भएको भए सच्याएर अगाडि बढ्ने प्रतिबद्धता उनले जनाएका हन् ।
तपाईको प्रतिक्रिया