काठमाडौं, जेठ ३१ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको नेपाली भूमी गणतन्त्रले फिर्ता ल्याएको बताउनुभएको छ । शनिबार प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै प्रचण्डले यस्तो बताउनुभएको हो ।
‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिँदै छौँ,’ उहाँले भन्नुभयो, ‘यो कडीको प्रक्रियाको लागि संविधान संशोधन गर्दैछौँ। म गर्वान्वित छु।’ उहाँले राष्ट्रिय एकताको निम्ति सबै दल नेता र सांसदहरुलाई धन्यावाद पनि दिनुभयो।
‘आउने दिनमा पनि ठूलो बलिदानबाट प्राप्त गरेको संघीय लोकतान्त्रकि गणतन्त्रको रक्षा गर्न एकताको विश्वास गर्दछु,’ उहाँले भन्नुभयो, ‘नेपालको राष्टिय स्वाधिनतालाई, भौगोलिक र बैदेशिक हस्तक्षपबाट मुक्त रहनु नेपाली जनताले सुम्पिएको जिम्बेवारी थियो। आज हामी ऐतिहासिक चुनौतिको सामना गर्न नेपालको भौगोलिक अखण्डताको स्वाधिन आइपुगेका छौँ।’
सरकारले नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो। सरकारले गत जेठ ७ गते लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा जारी गरिसकेको छ।
यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जहाँ भए पनि राष्ट्रिय अखण्डताको विषयमा सबै नेपाली एक हुने बताउनुभएको छ । ‘नेपाली जनसुकै ठाउँमा भए पनि राष्ट्रको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताका लागि एक हुन्छन्’, उहाँले छलफलका क्रममा भन्नुभयो ।
संशोधन प्रस्तावलाई कांग्रेस केन्द्रीय समिति र संसदीय दलले पूर्ण समर्थन गर्ने निर्णय गरेको जानकारीसमेत दिनुभयो। उहाँले यो विषयमा सबै पार्टीको समर्थन देखिनु नेपालीको राष्ट्रिय एकता भएको प्रष्ट पार्नुभयो ।
तपाईको प्रतिक्रिया