काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटि परिर्वतन गरेर सहजता ल्याउने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी हेरफेर गर्ने जानकारी गराउनुभएको हो ।
प्रधानमन्त्रीले निजी स्वास्थ्य संस्थालाई कोरोना भाइरस परीक्षण गर्न दिने गरी निर्णय हुने समेत संबोधनबाट जानकारी गराउनुभएको हो । कोरोना परीक्षणका लागि थप आधुनिक उपकरण ल्याइने भन्दै उहाँले थप पीसीआर मेसिन ल्याइने जानकारी गराउनु भएको हो । उहाँले भन्नु भयो ‘थप आधुनिक उपकरण ल्याउनेमा हाम्रो ध्यान गएको छ । त्यसमा हामीले कदम चालिराखेका छौं ।’
कोरोनाको कारणले १५ जनाको मृत्यु भएको भएपनि अरू देशको तुलनामा संक्रमित मध्ये मृत्यु हुनेको संख्या कम नै रहेको बताउनु भयो । नेपालीको प्रतिरोध क्षमता र उपचारको प्रबन्ध नेपालमा राम्रो भएको भन्दै उहाँले मृत्युदर कम हुने दाबी गर्नुभएको छ ।
विदेशमा अहिले सम्म १३ देशमा गरि १ सय २७ नेपालीको मृत्यु भएको उनले जानकारी गराउनु भएको छ ।
यस्तै प्रधानमन्त्री ओलीले सांसदको प्रश्नमा कोभिड–१९ को नियन्त्रण, न्यूनीकरणमा भ्रष्टाचार नभएको बचाउ गर्दै यस्तो आपतको घडीमा भ्रष्टाचार नहुने, भ्रष्टाचार हुन नदिने दोहोर्याउनु भएको हो ।
तपाईको प्रतिक्रिया