दार्चुलामा एकै दिन १० जनामा कोरोना संक्रमणः नगरपालिकाले उच्च सर्तकता अपनाउँदै
- नयाँ शिविर
- २०७७ जेठ २७ मङ्गलबार

दार्चुला । दार्चुलामा एकै दिन १० कोरोनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा १० पुरुषको पीसीआर रिर्पोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले विज्ञप्ति मार्फत जानकारी दिनुभयो ।
जिल्लाको शैल्यशिखर नगरपालिकाका ३४, ३०, २७, २९, २०, १७, २० र २१ वर्षका ८ जना, लेकम गाउँपालिकाका ४२ वर्षीय १ जना र महाकाली नगरपालिकाका २८ वर्षीय १ गरी १० जना पुरुषमा कोरोना संक्रमण पुष्टि जनस्वास्थ्य अधिकृत भट्टले जानकारी गराउनु भयो ।
यसअघि जेठ ८ गते महाकाली नगरपालिकाका १ पुरुषमा कोरोना संक्रमण देखिएको थियो । जिल्ला अस्पताल दार्चुलामा उपचाररत उहाँको दोस्रो रिपोर्ट नेगेटिभ आइसकेको र तेस्रो पटक पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना धनगढी पठाइएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।
सोमबार धनगढी प्रयोगशालामा कञ्चनपुरका १९, दार्चुलाका १०, डडेल्धुराका ७ र कैलालीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा संक्रमितको सङख्या एक सय ४७ पुगेको छ ।
अहिलेसम्म सबैभन्दा बढी कैलालीका ४८ जना, कञ्चनपुरमा ३२, अछामका १५, डडेल्धुरामा १४, दार्चुलामा ११, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ ।
पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने १८ जना निको भएर घर फर्किसकेका छन् । अहिलेसम्म धनगढीको प्रयोगशालाबाट एक सय २९, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्लामा कोरोना संक्रमण बढ्दो गतिमा देखिन थालेपछि नगरपालिकाले उच्च सर्तकता अपनाउन थालेको छ । नगरपालिकाको गोकुलेश्वर माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना देखिन थालेपछि गोकुलेश्वर बजार क्षेत्र सिल गरिएको हो ।
शैल्यशिखर नगरकार्यपालिकाको बैठकबाट अर्को निर्णय नहुँदासम्मका लागि बजार क्षेत्र सिल गर्ने निर्णय गरिएको नगर प्रमुख अमरसिह धामीले जानकारी दिनुभयो । सोमबार साँझ शैल्यशिखर नगरपालिकाका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
२० जनाको आरडिटी पोजेटिभ
दार्चुलामा भारतका विभिन्न सहरबाट भित्रिएका २० जना पुरुषहरुको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । सोमबार लेकम गाउँपालिकामा २ जना र अपि हिमाल गाउँपालिकाका १ गरी तीन जना पुरुषको आरडिटी पोजेटिभ देखिएको हो ।
आइतबारसम्म १७ जना पुरुषमा आरडिटी रिपोर्ट पोजेटिभ आएको थियो । हालसम्म आरडिटी पोजेटिभ देखिएका २० जनालाई आइसोलेसन कक्षमा सारिएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाइरस फोकल पर्शन विरेन्द्र भट्टले जानकारी दिनुभयो । आरडिटी पोजेटिभ देखिएकाहरुको केही दिन भित्रै थ्रोट स्वाबको नमुना संकलन गरी पीसीआर विधिबाट कोरोना परीक्षण गरिने भट्टले बताउनुभयो ।
भारतका विभिन्न सहरका साथै बाहिरी जिल्लाहरुबाट भित्रिएर क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी परीक्षण भइरहेको छ । हालसम्म जिल्लाभरी २ हजार १ सय १० जनाको आरडिटी परीक्षण गरिएकोमा २० जनाको ‘एन्टीबडी पोजेटिभ’ देखिएको हो ।
तपाईको प्रतिक्रिया