काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ब्राजिललाई कोरोना सम्बन्धी तथ्यांक सार्वजनिक गर्न आग्रह गरेको छ ।
कोरोना संक्रमणको दोस्रो धेरै प्रभावित देश ब्राजिलले मृतकको वास्तविक संख्या लुकाइरहेको भन्दै चौतर्फि आरोप तथा आलोचना आईरहेपछि ब्राजिल सरकारले कोरोना भाइरसबाट समग्र संक्रमित र मृत्युको तथ्यांक सार्वजनिक गर्न छाडेको छ ।
शनिबारदेखि ब्राजिलको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको अहिलेसम्मको समग्र मृतक र संक्रमितको तथ्यांक हटाएर केवल पछिल्लो २४ घण्टामा भेटिएका संक्रमित र मृतकको तथ्यांक मात्र राख्न थालेको छ ।
ब्राजिलको यस कदममा चासो दिँदै डब्ल्यूएचओले तथ्य र पारदर्शिता अपनाउँदै विवरणहरू सार्वजनिक गर्न आग्रह गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ब्राजिलमा कोरोना भाइरसबाट ६ लाख ९१ हजार ७ सय ५८ जना संक्रमित छन् । त्यस्तै हालसम्म त्यहाँ ३६ हजार ४ सय ५५ जनाको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनका हेल्थ इमरजेन्सी प्रमुखले पत्रकारहरुसँग कुरा गर्दै नागरिकहरूको ब्राजिलले सुरक्षालाई ध्यान दिँदै तथ्यांकमा पारदर्शिता अपनाउनुपर्ने त्यसलाई सार्वजनिक गर्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया