काठमाडौं । लामो समयपछि नवगठित जनता समाजवादी पार्टी नेपालले पदाधिकारी टुंगो लगाएको छ । जसपामा तीन जना अध्यक्ष र दुई वरिष्ठ नेता गरी पाँच पदाधिकारी रहने गरि टुंगो लागेको हो ।
अध्यक्षमा महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई रहने सहमति भएको छ भने राजेन्द्र महतो र अशोक राई वरिष्ठ उपाध्यक्ष रहने भएका छन् ।
जसपाका अन्य पदाधिकारीहरुको भने अझै टुंगो लागेको छैन । राजपा र समाजवादीबीच एकता भएको जानकारी निर्वाचन आयोगमा ४५ दिन अघि नै दिइसकेको छ ।
निर्वाचनमा आयोगमा ४५ दिनभित्र पदाधिकारीहरुको टुंगो लगाई आयोगमा दर्ता गराउनुपर्ने हुन्छ । आज अन्तिम दिन जसपाले पाँच पदाधिकारीको टुंगो लगाएको हो ।
अहिले आयोगमा पाँच पदाधिकारी र बाँकी सबै सदस्य रहने गरी निवेदन दर्ता गर्न लागिएको हो । राजनीतिक दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ ।
ऐनमा दुई वा सो भन्दा पार्टीले सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्ने, एकीकरणको सम्झौता भएको पैँतालीस दिन भित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपी संलग्न गरी आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ ।
तपाईको प्रतिक्रिया