दाङ । लकडाउनको मौका छोपी एम्बुलेन्सबाट लागुऔषध ओसारपसार गर्ने एम्बुलेन्स चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
दाङको तुलसीपुर–अमिलिया सडकको दमारगाउँबाट एम्बुलेन्स सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
गए राति बाँकेबाट तुलसीपुर आउँदै गरेको रा १ च ३८९ नम्बरको एम्बुलेन्समा १६ ग्राम ४५० मिलीग्राम ब्राउनसुगर भेटिएपछि आज नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपु्रका प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए ।
उनका अनुसार उक्त एम्बुलेन्स तुलसीपुर उद्योग वाणिज्य सङ्घको रहेको छ ।
तुलसीपुरबाटै बिहीबार तुलसीपुर–५ निवासी १७ वर्षीया दीपा थापा र घोराहीको बडहरा निवासी शङ्कर पुन बिरामी भएको भनी बाँके लगेको र त्यसको केही समयपछि उनीहरुलाई नै तुलसीपुर ल्याएको पाइएपछि प्रहरीले आशङ्का गरेर सोधखोज गर्दा ती अवैध पदार्थ भेटिएको स्रोतले जनाएको छ । उनीहरुसहित एम्बुलेन्स चालक दङ्गीशरण गाउँपालिका–६ श्रीगाउँ निवासी तिलक विकलाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया