काठमाडौं । नेपाल सरकारले कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारो परेका नेपालीको उद्धार सुरू गरिसकेको छ ।
शुक्रबार (आज) पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आईसकेका छन् । उनीहरु म्यानमारबाट म्यानमार सेनाको विमानमार्फत नै आएका थिए भने नेपाल आएपश्चात नेपाली सेनाले तयार पारेको वसुन्धारास्थित होल्डिङ सेन्टरमा लगिएको छ ।
सैनिक स्रोतका अनुसार, उनीहरुलाई वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राख्न लगिएको हो ।
प्रदेश नं ३, ४ र ५ घर भएकालाई मात्र काठमाडौंमा राख्ने भनिए पनि म्यानमारबाट आएकाको संख्या थोरै भएकाले सबैलाई वसुन्धारामै राख्न लागिएको स्रोतले बताएको छ ।
होल्डिङ सेन्टरमा उनीहरुले बढीमा एक रात बस्नुपर्नेछ । त्यसपछि उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी व्यवस्था मिलाइनेछ ।
उनीहरू सबैको पीसीआर रिपोर्ट नेगेटिभ रहेकाले छिट्टै सम्बन्धित स्थानीय तहको जिम्मा लगाइने तयारी भएको छ ।विदेशबाट उद्धार गरिएकालाई समस्या नहोस भने नेपाल टेलिकमले निःशुल्क सीम कार्डको ब्यवस्था गरेको छ ।
सरकारले शुक्रबार म्यानमारसँगै युएईबाट पनि १६८ जनालाई ल्याउने तयारी गरेको पनि युएईको उडान भने ढिला हुने नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
विदेशबाट दैनिक २९ सय जनासम्म ल्याउने गरि तयारी पूरा गरिसकेको छ ।
तपाईको प्रतिक्रिया