काठमाडौँ । फागुन र चैतमा बुझाउनुपर्ने कर लकडाउनका कारण आगामी जेठ २५ गतेसम्म बुझाउन सरकारले करदातालाई निर्देशन दिएको छ । मंगलबार आन्तरिक राजस्व विभागले एक सूचना प्रकाशन गर्दै जेठ २५ गतेसम्म कर तिर्न करदातालाई स्मरण गराएको हो ।
सरकारले पहिलोपटक वैशाख २५ गतेसम्मका लागि कर तिर्नुपर्ने मिति तय गरेको थियो । तर, लकडाउनले कर तिर्न समस्या हुने भएपछि संशोधन गर्दै जेठ २५ गतेसम्म कर तिर्नसक्ने निर्णय गरेको थियो । मङ्गलबार सरकारले यसअघि कर तिर्नका लागि तोकिएको मिति करदातालाई स्मरण गराएको विभागका महानिर्देशक विनोद कुँवरले जानकारी दिएका छन् ।
विभागले मङ्गलबार प्रकाशित सूचना अनुसार फागुन र चैतसम्मको अन्तशुल्क, आयकर, शिक्षा सेवा शुल्क र दूरसञ्चार सेवा शुल्कबापतको विवरण र त्यसअनुसारको कर जेठ २५ गतेभित्र करदातो दाखिला गनुपर्ने छ ।
त्यस्तै फागुन चैतको मूल्य अभिवृद्धि कर विवरण, माघ र फागुनको द्विमासिक र मङ्सिरदेखि फागुनसम्मको चौमासिक कर विवरण र सो बमोजिमको कर दाखिला गर्न समेत विभागले करदातालाई जानकारी दिएको छ ।
विभागको सूचनापछि निजी क्षेत्रका प्रतिनिधि तथा केही बद्धिजिविहरुले असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरुले सरकारले गाईलाई घाँस कुँडो नदिई दुध दुने तयारी गरेको आरोप लगाएका छन् । लकडाउनको समयमा रकम अभाव भएको अवस्थामा समेत कर तिर्न बाध्य पार्नु सरकारको यो निर्णय गलत भएको बताएका छन् । यद्यपि सरकारले भने यो सूचना नयाँ नभई पुरानै सूचना भएको स्पष्ट पारेको छ । “यसको विरोध गर्नुपर्ने नै देख्दिनँ । यो पुरानै सूचना स्मरण गराएको मात्र हो,” महानिर्देशक कुँवरले बताएका छन् । विभागले समयमै कर दाखिला गरेर थप दस्तुर तथा जरिवानाबाट बच्नसमेत करदातालाई आग्रह गरेको छ । सम्बन्धित प्रतिनिधि तथा व्यत्तिविषेशले विरोध गरेपनि सरकार निर्णयबाट पछि नहट्ने देखिन्छ ।
तपाईको प्रतिक्रिया